ललितपुर । नेपाल क्यान्सर केयर फाउन्डेशनकी महासचिव सरिता घिमिरेले नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा पुगेको बताएकी छन् ।
सोमबार जापान सरकारको सहयोगमा निर्मित ललितपुर जिल्लामा महिला क्यान्सर सेन्टरका लागि म्यामोग्राफी मेसिन जडान गर्ने आयोजना हस्तान्तरण समारोहमा महासचिव घिमिरेले क्यान्सरको उच्च जोखिम रहेको तत्थ्यांक प्रस्तुत गरिन् ।
‘नेपालमा क्यान्सरको आँकडा हेर्ने हो भने महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर अहिले सबैभन्दा उच्च विन्दुमा छ,’ उनले भनिन् ।
संस्थाले मात्रै २५ हजार भन्दा धेरै महिलाहरुको पाठेघर मुखको क्यान्सर र १ हजार ७ सय बढीमा स्तन क्यान्सर स्क्रिनिङ गरेको तत्थ्यांक पेश गर्दै उनले नेपालको पूरा आँकडा हेर्नैै नपर्ने गरी क्यान्सरले भयावह रुप लिएको धारणा राखिन् ।
‘२५ हजार भन्दा धेरै महिलाहरुको पाठेघर मुखको जाँच तथा १७ सय बढीको स्तन क्यान्सर सम्बन्धि जाँच भैसकेको छ । विद्यमान क्यान्सरको भयावह स्थिति जान्नलाई हामीले नेपालको पूरा आँकडा हेर्नै पर्दैन । सुरुवाती चरण देखि यो संस्थामा आएको आँकडा हेर्दा २८ जना महिलामा पाठेघरको र ७ जनामा स्तन क्यान्सर भेटिइसकेको छ,’ घिमिरेले भनिन् ।
त्यस्तै उनले संस्थामा जाँच गराउन आएका मध्ये ६१० जना पाठेघर मुखको क्यान्सर हुन सक्ने सम्भावित महिलाहरुलाई उपचार मार्फत निको गराएको भन्दै नेपालमा महिलामा देखिने दुवै क्यान्सको रोकथामका लागि सबै लाग्नुपर्ने धारणा राखिन् ।
नेपालको लागि जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रमअन्तर्गत जापान सरकारको सहयोगमा ललितपुरमा महिला क्यान्सर सेन्टरका लागि म्यामोग्राफी मेसिन जडान गरिएको थियो ।
स्तन क्यान्सरको अवस्था बारेको महासचिव घिमिरेले पेश गरेको विवरण म्यामोग्राफी मेसिन जडान गरिसके पछिको हो ।
सन् २०१९ को अन्त्यमा यो परियोजना पूरा भएपछि २०२० मा हस्तान्तरण गर्ने तयारी गरिरहँदा कोभिड लगायतको कारण रोकिएको थियो । तर, फाउण्डेसनले सो मेसिन यस अघि नै सञ्चालनमा ल्याइसकेको छ ।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले क्यान्सर स्क्रिनिङ मेसिनको व्यवहारिक प्रयोगबाट प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाउन उपयोगी सिद्ध भएकोप्रति खुसी व्यक्त गरे ।
उनले उपकरणको प्रयोगबाट स्तन क्यान्सर परीक्षणमा सुधार हुनाले प्रभावित बिरामीहरूको प्रारम्भिक उपचार हुनेमा विश्वस्त रहेको पनि बताएका छन् ।
कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले उक्त स्तन क्यान्सर स्क्रिनिङ उपकरण जडानले स्तन क्यान्सरको पहिचान गर्न ठूलो र महत्वपूर्ण सहयोग पुगेको भन्दै जापानी सरकारलाई धन्यवाद दिए ।





