भँगहा नगरपालिकामा कार्यपालिकादेखि सबै वडामा तालाबन्दी गरे मेयर साहले

काठमाडौँ । महोत्तरी जिल्लाको भँगहा नगरपालिकाको कार्यपालिकादेखि सबै वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ । मेयर संजिवकुमार साहले सोमबार नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नआएको भन्दै मेयर साहले तालाबन्दी गरेका हुन् । उनले यसअघि ३ दिनभित्रमा प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन नआए तालाबन्दी गर्ने बताएका थिए ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १ गतेको पत्रमार्फत खिमराज भुसाललाई सो नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको जानकारी नगरपालिकालाई दिएको थियो । तर, मन्त्रालयको पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल नगरपालिकामा हाजिर नभएको मेयर साहको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफूले पटकपटक मन्त्रालय धाएर जानकारी गराए पनि समस्या समाधान हुन नसकेको मेयर साहले बताए । मन्त्रीले भेट्नको लागि समय नदिएको र स्वकीय सचिवलाई भेटेर समस्याबारे अवगत गराउँदा पनि समस्याको समाधान नभएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update