१५ दिनपछि खुल्यो मालढुंगा पुल, अब सहज बन्नेछ पश्चिम नेपालको जनजीवन

 

बागलुङ I कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ–पर्वज जोड्ने मालढुङ्गाको पुलमा क्षति पुर्‍यायो । पुलको पर्वतपट्टी पहुँचमार्ग बाढीले बगाउँदा १५ दिनदेखि यातायात ठप्प भएको थियो । पुल संचालन नहुँदा बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, सल्यान लगायत पश्चिम नेपालका दर्जनौ जिल्ला प्रभावित भएका थिए ।

सोमबार पुलको पहुँच मार्ग निर्माण भएपछि यातायात संचालनमा आएको छ । दसैँको बेलामा मुख्य पुल नै बन्द हुँदा हजारौँ नागरिकले सास्ती खेप्नु परेको थियो भने बागलुङ बजारमा महँगी बढेको थियो । सडक डिभिजन कार्यालय पोखराको प्राबिधिक टोलीसहित दर्जनौँ कामदारले चौबिसै घण्टा काम गरेपछि सोमबार विहान १० बजेदेखि पुल संचालनमा आएको हो ।

पुल संचालनका लागि बागलुङबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसमेत खेटिएको थियो । चाडबाडका बेला यातायात बन्द हुँदा बागलुङको व्यापार व्यवसाय र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको थियो । मालढुंगा पुल हुँदै प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर, पञ्चकोटदेखि ढोरपाटन घुम्न जाने पर्यटकहरु पनि आउन सकेका थिएनन् ।

आइतबार घटस्थापनाका दिन बागलुङ कालिकामा आउन भक्तजनको चहलपहल पनि खास्सै हुन सकेन । विगतका वर्षमा घटस्थापना दिन मात्रै १० हजारबढी भक्तजन आउने गरेका थिए । तर यस वर्ष दुई हजारसमेत पुग्न मुस्किल पर्‍यो । बाढी पहिरो र मालढुंगा पुल भत्केपछि मन्दिर आउनेहरु घटेका हुन् ।  पुलका कारण बाहिरी जिल्लाबाट पञ्चवलिसमेत दिन आउनेहरु समेत नआएको मन्दिर व्यवस्थापन समितिका लेखापाल दुर्गा खत्रीले जानकारी दिए ।

कालीगण्डकीको बाढीले असोज ११ गते कालीगण्डकी पुल बगेको थियो । त्यसपछि पोखरा र पर्वतदेखि सिधा यातायात ठप्प छ । अत्यावश्यक सेवाका सामान समेत ढुवानी भएको छैन । मालढुंगादेखि मुस्ताङ सडक अझै सञ्चालन नभएकोले यो पटक मुक्तिनाथ र कागबेनीमा श्राद्व गर्न जाने भक्तजन नभएकोले कालीका मन्दिर सुनसान भएको हो । पुल संचालनमा आएपछि स्थानीय व्यवसायी उत्साहित भएका छन् । बाढीपहिरोका कारण एक महिनादेखि सुस्ताएका बागलुङका होटल व्यवसायसमेत पुल ठप्प हुँदा चलायमान हुन सकेनन् । बाहिरी जिल्लाबाट आउने पर्यटक नआएपछि होटल व्यवसाय सुनसान भएको होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । पुल संचालनमा आएपछि विदेशी तथा स्वदेशी पर्यटक आउने आशा जागेको उनको भनाइ छ । बागलुङ भित्रिने मुख्य पुल नै बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको थियो । अब बिस्तारै पुरानै अवस्था फर्किने अपेक्षा लिइएको छ । मालढुङ्गा पुल राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र चिन–भारत जोड्ने कालीगण्डकी कोरिडोरको मुख्य केन्द्र हो । यही पुल हुँदै दुई वटा राजमार्गमा यात्रुले यात्रा गर्दै आएका छन् ।  

 

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update