काठमाडौँ । दाङको बबई गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई ठेक्का तोड्ने अन्तिम चेतावनी दिएको छ।
गाउँपालिकाले तोकिएको समयभित्र काम सम्पन्न नगरेको भन्दै निर्माण कम्पनी विष्णु विल्डर्स प्रालिलाई १५ दिनभित्र लिखित स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।
निर्माण व्यवसायीले पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दा पनि लामो समयसम्म निर्माण कार्य सम्पन्न नगरेकोले कारवाही प्रक्रिया अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोखिम वलीले जानकारी दिए ।
सम्झौताअनुसारको काम पूरा नगरेपछि ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाउन लागिएको गाउँपालिकाको भनाइ छ ।
गाउँपालिकाका अनुसार वडा नं. ४ मा निर्माणाधीन शीत भण्डार भवन निर्माणको जिम्मा लिएको काभ्रेको बिष्णु बिल्डर्स प्रालिले सम्झौताअनुसार काम सम्पन्न नगरेको हो।
गाउँपालिकाले निर्माण व्यवसायीलाई १५ दिनभित्र लिखित तथा विश्वसनीय स्पष्टीकरणसहित आधिकारिक प्रतिनिधिमार्फत कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। अन्यथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ तथा ठेक्का सम्झौता बमोजिम सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइने सूचनामा जनाइएको छ।
गाउँपालिकाले निर्माण कार्य समयमै सम्पन्न नहुँदा सार्वजनिक पूर्वाधार निर्माणमा समस्या उत्पन्न हुने भएकाले सम्झौताअनुसार काम गर्न निर्माण व्यवसायीलाई सचेत गराएको छ।


