काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा विश्वास, स्थायित्व, नवप्रवर्तन र उत्कृष्ट सेवाको पर्यायका रूपमा स्थापित सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीहरूका लागि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) तथा अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ ।
वर्तमान आर्थिक परिस्थितिमा बैंकिङ क्षेत्र न्यून कर्जा विस्तार, प्रतिस्पर्धात्मक दबाब तथा आर्थिक गतिविधिको सुस्तताजस्ता चुनौतीबाट गुज्रिरहेको अवस्थामा सिद्धार्थ बैंकले प्रस्ताव गरेको २० प्रतिशत लाभांश विशेष महत्वको विषय बनेको छ । बैंकद्वारा प्रस्तावित लाभांश हालसम्म वाणिज्य बैंकहरूबाट घोषणा गरिएका लाभांशमध्ये उच्चतम रहेको छ, जसले बैंकको सुदृढ वित्तीय अवस्था, व्यवसायिक क्षमता तथा शेयरधनीप्रतिको उच्च उत्तरदायित्वलाई प्रतिबिम्बित गर्दछ ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले करिब ३.४७ अर्ब रुपैयाँ खुद नाफा आर्जन गर्दै आफ्नो वित्तीय आधारलाई थप मजबुत बनाएको छ । बैंकको पूँजी आधार, जगेडा कोष तथा नेटवर्थमा भएको उल्लेखनीय वृद्धिले बैंकको दीर्घकालीन स्थायित्व तथा भविष्यको व्यवसायिक सम्भावनालाई अझ बलियो बनाएको छ । शेयरधनीहरूलाई निरन्तर प्रतिफल प्रदान गर्ने बैंकको परम्परालाई यस वर्ष प्रस्ताव गरिएको २० प्रतिशत लाभांशले थप मजबुत बनाएको छ ।
विगत पाँच आर्थिक वर्षमा बैंकले क्रमशः १३ .१६ प्रतिशत, ४.२१ प्रतिशत, ४ प्रतिशत, १०.५३ प्रतिशत तथा हाल २० प्रतिशत लाभांश प्रस्ताव गर्दै आएको तथ्यले बैंकको सुदृढ वित्तीय व्यवस्थापन तथा दिगो प्रतिफल वितरण क्षमताको पुष्टि गर्दछ । सिद्धार्थ बैंकको सफलता लाभांश वितरणमा मात्र सीमित छैन । बैंकले डिजिटल रूपान्तरणलाई आफ्नो रणनीतिक प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, भौतिक तथा डिजिटल क्रेडिट कार्ड लगायतका आधुनिक बैंकिङ सेवामार्फत ग्राहकलाई सहज, सुरक्षित र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्दै आएको छ ।
बैंकले डिजिटल प्रविधिको अधिकतम उपयोगमार्फत सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी र पहुँचयोग्य बनाउँदै लगेको छ । बैंकले संस्थागत सुशासन, पारदर्शिता तथा नियामकीय अनुपालनलाई आफ्नो व्यवसायिक संस्कृतिको अभिन्न अङ्गका रूपमा अवलम्बन गर्दै आएको छ । जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, ग्राहक संरक्षण, एएमएल/सिएफटी अनुपालन तथा जिम्मेवार बैंकिङ अभ्यासप्रति बैंकको दृढ प्रतिबद्धताले नियामक निकाय, ग्राहक, लगानीकर्ता तथा अन्य सरोकारवालाहरूबीच उच्च विश्वसनीयता कायम गरेको बैंकको भनाइ छ ।
ग्राहक सन्तुष्टि र दीर्घकालीन सम्बन्ध निर्माणलाई उच्च प्राथमिकतामा राख्दै बैंकले कस्टुमर रिलेसनसिप म्यानेजमेन्ट (सिआरएम) लाई रणनीतिक रूपमा कार्यान्वयन गरिरहेको छ । ग्राहकको आवश्यकता, अपेक्षा तथा अनुभवलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने बैंकको अभ्यासले ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगेको छ ।
सिद्धार्थ बैंकले वित्तीय सुदृढता, उत्कृष्ट सुशासन, डिजिटल नवप्रवर्तन, ग्राहक केन्द्रितता तथा शेयरधनीप्रतिको प्रतिबद्धतालाई सन्तुलित रूपमा अगाडि बढाउँदै नेपालको बैंकिङ क्षेत्रको एक अग्रणी, विश्वासिलो तथा जिम्मेवार संस्थाका रूपमा आफ्नो पहिचान अझ मजबुत बनाउँदै गएको छ । सुदृढ वित्तीय अवस्था, निरन्तर प्रतिफल वितरण क्षमता, प्रविधिमैत्री बैंकिङ, उत्कृष्ट सुशासन तथा ग्राहक केन्द्रित सेवाका आधारमा सिद्धार्थ बैंकले भविष्यमा पनि ग्राहक, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाका लागि दिगो मूल्य सिर्जना गर्दै नेपालको सबैभन्दा विश्वासिलो, जिम्मेवार र भविष्यमुखी बैंकका रूपमा आफ्नो नेतृत्वदायी भूमिका अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ ।


