काठमाडौं । आज कोजाग्रत पूर्णिमासँगै बडादसैंलाई बिदा गरिदैछ । कोजाग्रत पूर्णिमाकै दिनबाट आश्विन कृष्ण औंसीसँगै सुरु भएको १५ दिने दुर्गापक्ष अर्थात् बडादसैं समाप्त हुन्छ ।
आजैका दिन लक्ष्मीको स्वागत पनि गर्ने प्रचलन छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ ।
आज साँझ दुर्गाको एक रूप महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्नाले घरमा लक्ष्मी प्रवेश गरी धनधान्यले सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।
कोजाग्रत पूर्णिमाकै दिन बिहान दसैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।
भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दसैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने गरिन्छ ।



