लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । वामपन्थी नेता लुइस इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

यो जितसँगै ८० वर्षीय लुला चौथो पटक देशको राष्ट्रपति बनेका हुन् । उनले निर्वाचनमा कट्टर दक्षिणपन्थी फ्लाबियो बोल्सोनारोलाई पराजित गरेका हुन् । लगभग सबै मतगणना सकिदा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरे भने बोल्सोनारोले ४८.२४ प्रतिशत मत प्राप्त गरे । 

लुलाको जित केही निर्वाचन सर्वेक्षण अनुमानको विपरीत आएको हो । यी सर्वेक्षणहरुमा बोल्सोनारोले सामान्य अन्तरले जित्ने अनुमान गरिएको थियो ।

यसै महिनाको सुरुमा पहिलो चरणको मतदानमा ४५ वर्षीय सिनेटर फ्लाबियो बोल्सोनारोले करिब २ प्रतिशतको अग्रता बनाएका थिए । 

वामपन्थी नेता लुला यसअघि सन् २००३ देखि २०१० सम्म राष्ट्रपति बनेका थिए भने चार वर्षअघि उनले तेस्रो कार्यकालका लागि जित हासिल गरेका थिए । यो निर्वाचनमा लुलासँग पराजित भएका बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् ।

यो जितसँगै सन् २०२७ देखि २०३० सम्म लुलाले ब्राजिलको नेतृत्व गर्नेछन् ।

सन् १९८९ मा प्रजातान्त्रिक निर्वाचन पुनः सुरु भएदेखि २०२२ सम्म ब्राजिलको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा अग्रता लिने उम्मेदवार नै दोस्रो चरणमा पनि जित हासिल गरेका थिए । तर यो वर्ष लुलाको जितसँगै त्यो क्रम टुटेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update