मन्त्रालयको सरुवा निर्णय कार्यान्वयन नगरेको भन्दै तीन पालिकाको खाता रोक्का

काठमाडौं । मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेको भन्दै सामान्य प्रशासन मन्त्रालयले तीन वटा पालिकाको आर्थिक अधिकार रोक्का गरेको छ । 

सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको बताएको छ । 

यसरी आर्थिक अधिकार रद्द गरिएका पालिकामा जुम्लाको कनकासुन्दरी गाँउपालिका, पर्साको जिराभवानी गाँउपालिका र काठमाडौंको बुढानिलकण्ठ नगरपालिका रहेका छन् । मन्त्रालयले यी तिनवटै पालिकाको खाता रोक्का गरेको हो ।

मन्त्रालयका अनुसार पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो । तर, सरुवा भएको निकायमा हाजिर नगरी उनीहरु सोहि पालिकामा कार्यरत रहँदै आएका थिए । 

यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पालिकाले हाजिर गराएको थिएन । सरुवा भएर पनि साविककै कार्यालयमा कार्यरत रहेको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरेको जनाएको छ । 

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ ।

मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ०९:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update