काठमाडौं । हाल अर्नब चक्रबातका कारण भइरहेको वर्षासहितको मौसमी असर दिउँसोदेखि क्रमशः सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल न्युन चापीय क्षेत्रको रूपमा पश्चिम नेपाल नजिक रहेको र अपरान्हसम्म यसको असर क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । साथै माथिल्लो वायुमणडलमा रहेको पश्चिमी न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।
जसका कारण देशभर अधिकांश स्थानमा बादल लाग्नेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मध्यमसम्मको वर्षा तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ भने सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।
बागमती, गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश स्थान, कोशी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागको धेरै स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी प्रदेशको तराई भू–भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ ।
यसैगरी भरे राति पनि देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागको थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
आज कार्तिक कार्तिक १४ गते शनिबार साँझसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना रहेकोले धानबाली भित्र्याउने लगायतका कृषि कार्यको लागि मौसमको जानकारी लिएर मात्र गर्नु हुन, उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनु हुन तथा पर्यटकहरू उच्च हिमाली भू–भागमा नजान, गएको भएपनि उक्त अबधिमा सुरक्षित ठाँउमा रहन अनुरोध छ ।
यस बाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने र सडक यातायात अवरोध हुनसक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाकोे अनुरोध छ ।



