विराटनगरको जितमा रसेलको अलराउण्ड प्रदर्शन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले पहिलो जित हात पारेको छ । एनपीएल अन्तर्गत शनिबार राति भएको ५ ओभरको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले हराएको हो । 

विराटनगरको जितमा वेस्ट इन्डिजका आन्द्रे रसेलले ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरे । रसेलले ब्याटिङमा नटआउट २९ रन बनाए भने बलिङमा १ विकेट लिए भने एक क्याच समेत लिएका थिए । 

विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ ओभरमा २ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि स्कट कगेलेइनले नटआउट २८ रन बनाए भने ओपनर सैफ जैब र आरिफ शेखले समान १७–१७ रन बनाए । 

विराटनगरका लागि २ ओभर बलिङ गरेका आन्द्रे रसेलले जम्मा ८ रन मात्र दिएर १ विकेट लिए भने एन्जेलो म्याथुजले १ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

विराटनगरका लागि ओपनर शेहान जयासूर्याले ११ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए । त्यसपछि ब्याटिङमा आएका आन्द्रे रसेलले पनि आक्रमक ब्याटिङ गर्दै १० बलमा २ चौका र ३ छक्का प्रहार गर्दै २९ रन बनाए ।

अर्का ओपनर लोकेश बमले १० बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रन जोडे । सुदूरपश्चिमका लागि २ ओभर बलिङ गरेका अभिनाश बोहराले २८ रन खर्चेर १ विकेट लिए ।

जारी एनपीएलमा विराटनगरको यो पहिलो जित हात पारेको हो । यो जितसँगै विराटनगर ३ खेलबाट २ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  ०७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update