मिथिला नगरपालिकाद्वारा कृषि औजार खरिदमा ५० प्रतिशत अनुदान, किसानलाई आवेदन दिन आग्रह

 

काठमाडौँ । धनुषाको मिथिला नगरपालिकाले किसानलाई कृषि औजार तथा उपकरण खरिदमा ५० प्रतिशत अनुदान दिने भएको छ। 

नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत अनुदानका लागि इच्छुक किसान, कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीलाई आवेदन दिन आह्वान गरिसकेको हो ।

नगरपालिकाले मिनी टिलर, पावर टिलर, वीडर, स्प्रेयर, खाल्डो खन्ने मेसिन, मिनी ट्युववेल, डिजिटल तराजु लगायतका कृषि औजार तथा उपकरणमा अनुदान उपलब्ध गराउने जनाएको छ।

अनुदान प्राप्त गर्न इच्छुक कृषक तथा समूहले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित मिथिला नगरपालिकाको कृषि विकास शाखामा निवेदन पेश गर्नुपर्नेछ।

आवेदनका साथ उपकरणको विवरण, नागरिकताको प्रतिलिपि, समूह वा सहकारीको दर्ता तथा नवीकरण प्रमाणपत्र, पान नम्बर, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, समूहको निर्णय, वडा कार्यालयको सिफारिस तथा जग्गाधनी पुर्जाको प्रतिलिपि पेश गर्नुपर्नेछ।

नगरपालिकाले बजेटको परिधिभित्र रहेर अनुदान वितरण गर्ने जनाएको छ। कृषि उपकरणमा अनुदान उपलब्ध गराउने कार्यक्रमले किसानलाई आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन गर्दै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update