Odapalika - The Fourth Estate - चौथो अंग
गाउँकै कलेजबाट स्नातक गर्ने महिलालाई पालिकाकाे १ लाख पुरस्कार 

काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक पास गर्ने २० वर्ष पुरा भएका महिलालाई १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । 

गाउँपालिकाको नीति तथा कार्यक्रममा गरिएको प्रतिवद्धता कार्यान्वयन गर्न गाउँपालिकाभित्रको शैक्षिक संस्थाबाट स्नातक पास गरेका स्थानीय महिलालाई पुरस्कार दिने प्रक्रिया सुरु गरिएको मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बताएका छन् । 

गाउँपालिकाको यो कार्यक्रममा विवाहित या अविवाहित महिलाले आवेदन दिन सक्नेछन् । गाउँपालिकाले स्नातक गरेका महिलालाई पुरस्कार दिने प्रयोजनका लागि आवेदन दिन सूचनासमेत प्रकाशन गरिसकेको छ । 

गाउँपालिकामा मरिण प्राकृतिक श्रोत व्यवस्थापन कलेज छ । जुन कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पस हो । 

पालिकाले स्थानीय महिलालाई गाउँकै कलेजमा स्नातकसम्म अध्ययन गर्न हौस्याउनसमेत यस्तो स्किम ल्याएको पालिकाको भनाइ छ । 

पालिका अध्यक्ष बिमर्स मोक्तानका अनुसार अघिल्लो आर्थिक वर्षमा समेत यो कार्यक्रम अन्तर्गत ५ जना महिलाले १ लाख रुपैयाँका दरले पुरस्कार पाइसकेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update