Odapalika - The Fourth Estate - चौथो अंग
छोरो फेल भएपछि परीक्षा नै रद्द गर्न पत्रकार महासंघका उपाध्यक्षको ज्ञापनपत्र, माग पूरा नभए आमरण अनसन बस्ने

काठमाडौँ । नगरपालिकाले संचालन गरेको परीक्षामा आफ्नो छोरा फेल भएपछि पत्रकार समेत रहेका उनका बाबुले परीक्षा नै रद्द गर्न ज्ञापनपत्र बुझाएका छन् ।

सिरहाको गोलबजार नगरपालिकाले संचालन गरेको लिखित परीक्षामा आफ्नो छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले आमरण अनसन बस्ने चेतावनी सहितको ज्ञापनपत्र बुझाएका हुन् । पत्रकार साह नेपाल पत्रकार महासंघ सिरहाको उपाध्यक्ष पनि हुन् ।

नगरपालिकाले मंसिर ९ गते लिखित परीक्षा लिएको थियो । सो परीक्षामा साहका छोरा राजाबाबु साह पनि सहभागी भएका थिए । तर, राजाबाबु परीक्षामा फेल भएपछि उनका पत्रकार पिता गणेशप्रसाद साह नगरपालिकासँग रिसाएका हुन् ।

यद्यपि, उनले नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत सुवोध लामालाई आज (मंसिर १३ गते) बुझाएको ज्ञापनपत्रमा प्रशासन प्रमुख निरन्जन शाक्यमाथि आरोप लगाइएको छ ।

ganesh-prasad-sah-ko-mag1701256918.jpg

‘मेरो छोरा राजाबाबु साहले परीक्षा दिइरहदा परीक्षा संचालकको रुपमा खटिएका त्यस नगरपालिकाका कर्मचारी निरन्जन शाक्यले व्यक्तिगत रिसीवी साध्न पूर्वाग्रही भएर विनाकारण मेरो छोराको कापी खोसेर लेख्न नदिई करिब १५ मिनेटसम्म कापी नियन्त्रणमा लिएर विलम्ब गराइ परीक्षामा असफल गराउने कुत्सित नियम र व्यवहार प्रदर्शन गरेका छन्,’ पत्रकार साहले आज नगरपालिकामा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

उनले ३ वटा माग राखेका छन् । उनका मागहरुको पहिलो नम्बरमा मंसिर ९ गते संचालित लिखित परीक्षा रद्द गरी पुन संचालन गर्नुपर्ने भन्ने राखिएको छ । यस्तै, दोस्रो मागमा प्रशासन प्रमुख शाक्यलाई प्रशासन प्रमुखबाट हटाएर स्वास्थ्य सेवातर्फ पठाउन भनिएको छ । र, तेस्रो मागमा प्रशासन प्रमुख शाक्यलाई अबदेखि कर्मचारी छनोट प्रक्रियामा सहभागी गराउन नहुने राखिएको छ ।

आफ्ना मागहरु पूरा गर्नको लागि पत्रकार साहले आगामी शुक्रबारसम्मको म्याद लिएका छन् । सो अवधिभित्रमा आफ्ना माग पूरा नभए मंसिर १७ गते आइतबार १० बजेदेखि नगरपालिकाको प्राङ्गणमा ‘आवरण अनसन’ बस्ने घोषणा पनि गरेका छन् । ज्ञापनपत्रमा आवरण अनसन भनेर लेखिएपनि त्यसको आसय आमरण अनसन जस्तो देखिन्छ ।

यद्यपि, कर्मचारीहरु भने पत्रकार साहका छोराको प्रवेशपत्र र उत्तर पुस्तिकामा हस्ताक्षर नमिलेपछि मिलाउन भनिएको बताउँछन् ।

‘राजाबाबु साहसहित ४ जनाको प्रवेशपत्र र उत्तरपुस्तिकामा हस्ताक्षर मिलेको देखिएन । हस्ताक्षर मिलाउनु भनेर भनिएको हो । यसक्रममा बढीमा २ मिनेट जति उत्तरपुस्तिका नियन्त्रणमा लिइएको थियो,’ नगरपालिकाका एक कर्मचारीले वडापालिकासँग भने ।

कर्मचारीहरुका अनुसार पत्रकार साहका छोरा लिखित परीक्षाको समयभन्दा करिब १५ मिनेट अघि परीक्षा हलबाट बाहिर आएका थिए ।

‘परीक्षामा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिलाई पनि बोलाइएको थियो । परीक्षामा भएको गतिविधि सिसिटिभीमा रेकर्ड भएको पनि छ । राजाबाबु परीक्षाको लागि दिइएको समयभन्दा करिब १५ मिनेट अगाडी नै परीक्षा हलबाट निस्किएका छन् । यो कुरा सिसिटिभी फुटेज हेरे पनि थाहा हुन्छ,’ ती कर्मचारीले थपे ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update