Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय सभा सदस्य निर्वाचनः यस्तो छ निर्वाचन कार्यक्रम 

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २० माघमा  निर्वाचन मतदाता नामावली प्रकाशित गर्ने भएको छ । 

आयोगले आगामी माघ ११ गतेका लागि तय गरेको निर्वाचन कार्यक्रमअनुसार २१ पुसमा  नामावली माथि दाबी विरोध र २२ पुसमा अन्तिम मतदाता नामावलीसमेत प्रकाशन हुनेछ ।

अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

२३ पुसमा म्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने र मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजूरी दिने कार्य २४ पुसमा हुने उनले बताए । 

मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली २६ पुसमा प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य २७ पुसमा सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य २७ पुस २ बजे सम्पन्न हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह २८ पुस बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।

११ माघ बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने उनले बताए । मतदान कार्य सम्पन्न भएपछि त्यसै दिनै मतगणना गरिने छ । 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न नपाउने पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्यनिर्वाचन ऐन, २०७४ को दफा ३ मा भएको व्यवस्थाअनुसार सोही दफाको उपदफा १ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामाबाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update