Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रपति बन्दा लाएको पिरती छुट्यो राष्ट्रियभा अध्यक्ष बन्ने बेलामा 

काठमाडौँ । राष्ट्रपति निर्वाचनबाट कांग्रेसको नेतृत्वमा बनेको बर्तमान सत्ता गठबन्धन राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको संघारमा परिवर्तन हुने भएको छ । 

सत्य निरुपण र बेपत्ता छानविन आयोगका बाँकी काम पुरा गर्ने र राष्ट्रियसभा अध्यक्षको चयन गर्ने नाममा बदलिएको सत्ता समीकरणको नेतृत्वमा अब प्रमुख प्रतिपक्षी दल एमाले आइपुगेको छ । 

आइतवार मध्यरात भएको एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीबीच भएको अनौपचारिक सहमतिपछि बर्तमान सत्ता गठवन्धन भत्किएको हो । 

गठवन्धन भत्किएलगत्तै अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नयाँ समिकरणसहितको सरकार बन्ने छ । 

एमाले र माओवादी केन्द्रका सचिवालय र पदाधिकारी बैठकले अनौपचारिक सहमतिलाई अनुमोदन गरेलगत्तै प्रचण्डले कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेकाहरुलाई राजिनामा दिन भन्नेछन् । 

प्रचण्ड नेतृत्वकै सरकारमा आजै एमालेसहितका दल सहभागी हुने भएका छन् । तथापि एमाले र माओवादीसहितका दलबीच भएको सहमतिको खाँका भने सार्वजनिक भइसकेको छैन । 

श्रोतकाअनुसार आजै एमाले का पदम गिरि र रास्वपा सभापति रबि लामिछानेसहितलाई समेटेर मन्त्रिपरिषद पुर्नगठनको तयारी भइरहेको छ । 

विकाशित राजनीतिक घटनाक्रमकै कारण आजका लागि तय भएको संसद र संसदीय समितिका बैठकहरु स्थगित गरिएका छन् ।प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा जारी भेटवार्ता सकिएलगत्तै कांग्रेससहितका सबै मन्त्रीहरुलाई राजिनामा दिन भनिने प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । 

श्रोतका अनुसार नयाँ गठवन्धनबीच केन्द्रदेखि प्रदेश सरकारसम्मको सत्ता बाँडफाँडको प्रारम्भिक खाकामा समेतमा सहमति जुटेको छ । 

एमालेले ३ वटा प्रदेशको मुख्यमन्त्री, माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री, जसपाले एउटा प्रदेशको मुख्य मन्त्री पाउने विषयमा दलहरुबीच मोटामोटी सहमति जुटेको एमालेका एक सचिवालय सदस्यले वडापालिकालाई बताए । 

उनका अनुसार यसले अन्तिम रुप भने पाउन बाँकी छ । राष्ट्रियसभा अध्यक्ष एमालेलाई दिने र प्रधानमन्त्रीमा प्रचण्डलाई निरन्तरता दिने विषयमा छलफल भएपनि यसले मूर्त रुप पाइनसकेको ती नेताको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update