Odapalika - The Fourth Estate - चौथो अंग
धनगढी उपमहानगरसँग गुनासो छ ? नमस्ते मेयर एपमा लेख्नू 

कैलाली । धनगढी उप–महानगरपालिकासँग सम्बन्धित गुनासा तथा सुझावहरु अनलाईन मार्फत दिन सकिने भएको छ । नगरबासीका समस्या तथा गुनासो समाधानका लागि उपमहानगरपालिकाले छुट्टै एप सञ्चालन गरेको छ । 

‘नगरको विकास नगरवासीको सहयोग, सहभागिता, सद्भाव र सहकार्यमा निर्भर रहन्छ, नगरको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा प्रत्येक नगरवासीको बुद्धि, सिप, योजना र परामर्शको अविस्मरणीय योगदान हुन्छ । हामी, नगरवासीले हामीलाई दिएको विश्वासलाई नगरवासीले सोचेकै विकासमा परिणत गर्न कृयाशील रहन्छौँ । यसका लागि यस नगरका सन्दर्भमा तपाईँका कुनै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रिया भएमा हामीलाई उपलब्ध गराइदिनुभए हामी तपाईँहरूकै सहयोगमा आवश्यक र उपयुक्त सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछौँ,’ गुनासा सम्बोेधन गर्न बनाईएको एपमा भनिएको छ । 

‘नगरवासीको सन्तुष्टि नै नगर प्रमुख र नगरपालिकाको सन्तुष्टि हो’, नारा राख्दै उपमहानगरका गत वैशाखदेखि उक्त मोबाइल एप सञ्चालनमा ल्याएको हो । 

उक्त एपमा हालसम्म १०५ वटा गुनासो दर्ता भएका छन् । दर्ता भएका गुनासामध्ये ४५ वटाको समाधान भइसकेका छन् भने ५६ वटा प्रकृयामा रहेको जनाइएको छ । 

उपमहानगरले सार्वजनिक गरेको सूचना अनुसार हालसम्म ध्वनि प्रदूषणमा, वातावरण प्रदुषणमा, शिक्षा, सडक सुरक्षा, लैंगिक हिँसा, सार्वजनिक यातायात, खानेपानी, सार्वजनिक सम्पक्ति, विद्युत, सार्वजनिक निर्माण, शान्ति सुरक्षा र उपभोक्ता हित संरक्षण सम्बन्धि छन् । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update