काठमाडौँ । धनगढी उपमहानगरपालिकाले टोल, चोक, मार्ग तथा सार्वजनिक स्थलको प्रचलित वा आधिकारिक नाम जथाभावी परिवर्तन तथा नयाँ नामकरण गर्न रोक लगाएको छ ।
उपमहानगरपालिका क्षेत्रभित्रका पुराना तथा प्रचलित नाम विभिन्न व्यक्ति, समूह वा संस्थाले आफ्नो अनुकूल परिवर्तन गर्ने तथा नयाँ नामकरण गरी सार्वजनिक रूपमा प्रयोग गर्ने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले सबै वडा कार्यालयलाई नाम परिवर्तनमा कडाइ गर्न निर्देशन दिएको हो ।
उपमहानगरपालिकाले बिहीबार वडा कार्यालयहरूलाई पत्र पठाउँदै टोल, चोक, मार्ग तथा सार्वजनिक स्थलको नाम परिवर्तन वा नयाँ नामकरण गर्दा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम स्थानीय सडक, बाटो, चोक, गल्ली लगायत सार्वजनिक स्थलको लगत अद्यावधिक तथा संरक्षण गर्ने र स्थानीय सडकसम्बन्धी नीति, कानुन, मापदण्ड तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई रहेको पत्रमा उल्लेख छ ।
उपमहानगरपालिकाले स्थानीय समुदायले कुनै स्थानको नाम परिवर्तन वा नयाँ नामकरण गर्न आवश्यक ठानेमा सम्बन्धित वडा कार्यालयका प्रतिनिधिको रोहबरमा टोल विकास संस्थाको बैठकबाट सर्वसम्मत निर्णय गराउनुपर्ने व्यवस्था गरेको छ । त्यसरी निर्णय गर्दा नाम परिवर्तन वा नामकरण गर्नुपर्ने कारण, औचित्य र आधारसमेत खुलाउनुपर्नेछ ।
टोल विकास संस्थाबाट भएको निर्णय सम्बन्धित वडा कार्यालयमार्फत नगर कार्यपालिकामा सिफारिस गरी पठाउनुपर्ने र नगर कार्यपालिकाले आवश्यक प्रक्रिया पूरा गरी औपचारिक निर्णय नगरेसम्म प्रस्तावित नामलाई आधिकारिक रूपमा प्रयोग, प्रचारप्रसार वा सार्वजनिक अभिलेख तथा संरचनामा उल्लेख गर्न नपाइने उपमहानगरले जनाएको छ ।
यसअघि कुनै व्यक्ति, समूह वा संस्थाले अनौपचारिक रूपमा नाम परिवर्तन गरी प्रचलनमा ल्याएको भए त्यस्तो नामलाई उपमहानगरपालिकाको आधिकारिक मान्यता प्राप्त भएको नमानिने पनि स्पष्ट पारिएको छ ।
त्यस्ता अवस्थामा उपमहानगरपालिकाको आधिकारिक अभिलेखमा कायम रहेको नाम नै प्रयोग गर्नुपर्नेछ । उपमहानगरपालिकाले वडा कार्यालयहरूलाई टोल विकास संस्था, स्थानीय समुदाय, व्यक्ति, समूह तथा सम्बन्धित सरोकारवालालाई यसबारे जानकारी गराई व्यवस्थाको प्रभावकारी र अनिवार्य कार्यान्वयन गर्नसमेत निर्देशन दिएको छ ।




