Odapalika - The Fourth Estate - चौथो अंग
‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो

काठमाडौँ । मंसिर १३ गतेदेखि संघीय सरकारका ५ वटा मन्त्रालयलका प्रतिनिधिहरु सहभागी भएर लैंगिक हिंसाविरुद्धको १६ दिने कार्यक्रमको सिलसिलामा छलफल तथा प्रस्तुतीकरण गरिँदै थियो ।

वियोन्ड बेइजिङ नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो २ बजेदेखि बानेश्वरको अल्फा हाउसमा हुँदै थियो । सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।

सो कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली थिइन् । तर, सोही दिन बिहान राष्ट्रिय महिला आयोगमा देखिएको दृश्य भने आयोगका सदस्यहरू नै महिला हिंसाको पक्षमा हुन् कि भनेर शंका गर्नुपर्ने स्तरको थियो ।

भयो के भने मंसिर १३ गते बिहान ११ बजे राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडालाई भेट्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र तत्कालिन कार्यकारी निर्देशक देवकुमार ढकाल आयोग पुगे । डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाल नेपाल राष्ट्र बैंककै उच्च तहमा कार्यरत एक महिला कर्मचारीमाथि भएको महिला हिंसामा ‘संलग्नता देखिएको’ ठहर आयोगले गरेको थियो ।

आयोगले डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाललाई महिला हिंसामा संलग्न रहेको ठहर गरे पनि महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल भने यसको विपक्षमा थिइन् । सदस्य पौडेल भने ‘उमेर पुगेका केटा र केटी सेन्तेरेम हानेर ‘हग’ गर्दैमा महिला हिंसा हुँदैन’ भन्ने अडानका साथ डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाललाई जोगाउन लागेकी छिन् । 

सदस्य पौडेलको स्थायी ठेगाना पाँचथर हो । पूर्वी नेपालमा मदिराजन्य पदार्थलाई सेन्तेरेम पनि भन्ने चलन छ ।

आयोगले महिला हिंसामा दोषी करार गरेर डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकालमाथि अन्याय गरेको सदस्य पौडेललाई लागेको छ । त्यसैले उनी ‘हाम्रा दाजुभाइलाई अन्याय हुन दिन्नँ’ भन्ने घोषणाका साथ उनीहरुलाई जोगाउन लागेकी छिन् ।

सदस्य पौडेलले आफूहरुलाई जोगाउन हरसम्भव प्रयास गरिरहेकोले महिला हिंसाका आरोपी डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाल सदस्य पौडेललाई भेट्न मंसिर १३ गते बिहान आयोग पुगेका थिए । मिश्र र ढकाल सदस्य पौडेलको कार्यकक्षमा केही समय बसेर छलफल गरे ।

National-Women-Commission-1732796683.jpg
स्रोतका अनुसार यसरी छलफल भएपछि सदस्य पौडेलले मिश्र र ढकाललाई अर्की सदस्य विद्याकुमारी सिन्हाको कार्यकक्षमा लगिन् । सदस्य सिन्हाको कार्यकक्षमा जान डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाल किन तयार भए भने सदस्य सिन्हा पनि सदस्य पौडेललाई साथ दिन तयार भइसकेकी थिइन् ।

krishna-kumari-paudel-and-b-1732797022.jpgसिन्हाको कार्यकक्षमा केहीबेर छलफल भएपछि दुबै सदस्यले आयोगकी अध्यक्ष कमला पराजुलीलाई पालैपालो फोन गरे । र, डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकालले पनि आयोगकी अध्यक्ष पराजुलीलाई फोन र म्यासेज गरेर भेट्न खोजे । तर, अध्यक्ष पराजुली भने उनीहरुकाे सम्पर्कमा आइनन् ।

सदस्यद्वय पौडेल र सिन्हा अध्यक्ष पराजुलीलाई घेराबन्दीमा पारेर मंसिर १३ गते नै डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाललाई आयोगका तर्फबाट सफाइ पत्र थमाउने योजनामा रहेको स्रोतले दावी गरेको छ ।

तर, अध्यक्ष पराजुलीसँग भेट्न नपाएपछि सदस्यद्वयले आयोगकी सचिव पार्वती अर्याललाई खोजे । सो समयसम्म सचिव अर्याल पनि ‘आवश्यक कामका लागि कार्यालय बाहिर’ रहेको जानकारी आयो । अनि सदस्य पौडेलले आयोगको कानुन शाखाकी उपसचिवसहितका कर्मचारी र उजुरी शाखाका अधिकांश कर्मचारीलाई सदस्य सिन्हाको कार्यकक्षमा बोलाइन् । 

सदस्यद्वयले डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाललाई देखाउँदै ‘यी दाजुभाइलाई किन अन्याय गर्‍याै’ भन्दै कर्मचारीसँग मौखिक स्पष्टीकरण लिन थाले । आयोगले महिला हिंसामा ‘संलग्न रहेको’ ठहर गरेका डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकालकै सामुन्ने राष्ट्रिय महिला आयोगका बहालवाला सदस्यहरुले यसरी स्पष्टीकरण लिन थालेपछि असहज महसुस गरेका आयोगका कर्मचारीहरूले आफूहरूले आयोगको निर्णय कार्यान्वयनमा सहजीकरण गरेको जवाफ दिए ।

आयोगका कर्मचारीहरूले उजुरी शाखामा महान्यायाधिवक्ता कार्यालय र कानुन मन्त्रालयको पनि प्रतिनिधि हुने स्मरण सदस्यद्वयलाई गराए । यस्तै, आयोगबाट कानुनअनुसार भएका कार्यको व्यक्तिगत जवाफ कर्मचारीसँग खोज्न नहुने सुझाव पनि उनीहरूले दिए । तर, सदस्यद्वयले डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाललाई सफाइको पत्र दिन दबाब दिएको स्रोतको भनाइ छ । 

आयोगका सदस्यद्वयले आयोगका निर्णय कार्यान्वयन गर्दा आफूहरूलाई काम गर्न अवरोध सिर्जना गर्न थालेपछि सचिव पार्वती अर्यालले आफू समस्यामा परेको बताउन थालेकी छिन् । महिला हिंसाजस्तो गम्भीर विषयमा आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई जोगाउन आयोगकै सदस्यहरू लागेको भन्दै सचिवसहितका कर्मचारी असन्तुष्ट छन् । आयोगका पदाधिकारीको वैमनस्यका कारण आफू चेपुवामा परेको भन्दै सचिव अर्याल भने सरुवा माग्ने सोचमा रहेको आयोग स्रोतले बतायो ।

डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाल आयोगमा करिब साढे १ घण्टा बसेको आयोग स्रोतको भनाइ छ । तत्कालिन कार्यकारी निर्देशक मंसिर ६ गतेदेखि अनिवार्य अवकाश पाएका छन् ।

के थियो घटना ?

नेपाल राष्ट्र बैंकले २०८० साल पुस २७ गते नगरकोटको होटल माउन्टेन मिस्टिकमा स्ट्रेस म्यानेजमेन्ट कार्यक्रम राखेको थियो । सो कार्यक्रममा राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरुसहित कर्मचारीसमेत सहभागी थिए । सोही कार्यक्रममा राष्ट्र बैंकका तत्कालिन निर्देशक थानेश्वर आचार्यले राष्ट्र बैंककै एक महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुव्र्यहार गरेका थिए ।

सो दुव्र्यवहारमा डेपुटी गभर्नर मिश्र तथा कार्यकारी निर्देशक ढकालले तत्कालिन निर्देशक आचार्यलाई उक्साएको तथा दुव्र्यवहारको फोटो र भिडियो खिचेर पीडितलाई थप पीडा दिएको आरोप लागेको थियो । घटना सार्वजनिक भएपछि पीडित महिला कर्मचारीले दुव्र्यवहार बारे अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । राष्ट्र बैंकले आन्तरिक छानविनपछि तत्कालिन निर्देशक आचार्य दोषी देखिएको भन्दै सेवाबाट बर्खास्त गरेको थियो । तर, डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई भने सफाइ दिएको थियो ।

राष्ट्र बैंकको सो निर्णयमा चित्त नबुझेपछि पीडित महिला कर्मचारीले राष्ट्रिय महिला आयोगमा २०८० साल माघ २९ गते निवेदन दर्ता गरेकी थिइन् । उनको निवेदनमा राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालसहित एक जना महिला पत्रकार विरुद्ध कारवाहीको माग गरिएको थियो । आयोगले दोषी देखिएका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई दोषी ठहर गर्दै निवेदकलाई कानुनी उपचारमा जान सुझाव दिएको छ भने पत्रकार विरुद्ध छानविन गर्न प्रेस काउन्सिल नेपालमा लेखी पठाउने निर्णय गरेको छ । 

महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।

सम्बन्धित समाचार

गभर्नरले प्रक्रिया नपुर्याउँदा महिला हिंसामा दोषी देखिएका आचार्य यसरी भए पुनर्वहाली

महिला आयोगले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई महिला हिंसामा कसरी दोषी देख्यो ?

राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update