
काठमाडौँ । केही दिनअघि गभर्नर डा. विश्वनाथ पौडेलले ललितपुरको भैसेपाटी र चितवनको आफ्नो जलेको घरको भिडियो सामाजिक संजाल फेसबुकमा राखे । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा उनको निजी घर जलाइएको थियो ।
चितवनको घरमा उनका बुबाआमा बस्दै आएका थिए भने ललितपुरको भैसेपाटीमा उनी सपरिवार बस्दै आएका थिए । जेनजी आन्दोलनका क्रममा उनका दुबै निजी निवास जलाएर ध्वस्त पारिएको छ ।
गभर्नर डा. पौडेलले दिएको जानकारी अनुसार चितवनको घर उनका बाबुले १५ वर्षअघि बनाएका थिए, जुनबेला डा. पौडेल विद्यार्थी नै थिए । यस्तै, ललितपुरको भैसेपाटीमा उनले छात्राबृत्ति र देशविदेशमा काम गरेर बनाएको बताएका छन् ।
आफ्ना बृद्ध आमाबुबा बस्ने चितवनको घर र आफ्नी ९ वर्षकी छोरीसमेत बस्दै आएको ललितपुर भैसेपाटीको घर जलेर घरविहिन बनेका गभर्नर डा. पौडेलको काँधमा अहिले देशको अर्थतन्त्रलाई रक्तसंचार गर्नुपर्ने दायित्व छ । अर्थतन्त्रलाई चाहिने नगद प्रवाहको प्रबन्ध गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकको हो । नगद प्रवाह अर्थतन्त्रको रक्तसंचार हो ।
जेनजी आन्दोलनका क्रममा देशभरका सार्वजनिक संरचनामा तोडफोड र आगजनी भयो । सार्वजनिक सम्पत्ति लुटपाट भयो । निजी उद्योग व्यवसायमा पनि आक्रमण र लुटपाट भयो । सो आन्दोनलबाट कति मूल्य बराबरको सम्पत्तिमा हानी नोक्सानी भयो भन्ने अझै खुलेको छैन । संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वाेच्च अदालत र संसद भवन नै जलेर ध्वस्त भएको छ ।
यही चरम निरासा, अतुलनीय हानी नोक्सानी, अभाव र व्यक्तिगत क्षतिका बाबजुत गभर्नर डा. पौडेल भने स्रोत साधनको व्यवस्थापनका साथसाथै सबै पक्षको मनोबाल उकास्न व्यस्त छन् । जेनजी आन्दोलनका नाममा देश नै ध्वस्त भएपनि कसै न कसैले देश बनाउनै पर्ने भन्दै उनी मनोबल उकास्न कस्सिएका हुन् ।
‘अरुले कमाएको देखेर रिस गर्ने, अवसरको खोजीमा विदेश जाने र विदेश गएर फर्केकाहरु पनि बेकारमा यो देश फर्केछु भन्ने हो देश कसले बनाउँछ ? कसै न कसैले त मेहेनत गरेर देश बनाउनै पर्छ,’ सुशान्त प्रधानसँगको हालैको एक पडकास्टमा गभर्नर डा. पौडेलले भनेका छन् ।
आमसंहार भएको भदौ २४ गते पनि बैंकिङ सेवालाई निरन्तरता दिन गभर्नर डा. पौडेलले हरतरहको पहल गरेको नेपाल राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् । उनले डिजिटल भुक्तानी एकछिन पनि नरोक्ने गरी व्यवस्था मिलाउन सम्बद्ध पक्षसँग प्रभावकारी समन्वय गरेका थिए । उनले नेपाल राष्ट्र बैंकको इमरजेन्सी रेस्पोन्स टीमलाई सक्रिय बनाएर तत्काल आवश्यक पहल गर्न भनेका थिए ।
गभर्नर डा. पौडेलले बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालालाई फोन गरी भदौ २३ गते बैंकका महिला कर्मचारीलाई छिटै बिदा दिन भनेका थिए । विद्यालय गएका बच्चाहरु घरमा आउने तर कफ्र्यूको कारण आमाहरु घर जान नसकेर एक्लै बस्नुपर्ने अवस्था नआओस भनेर महिला कर्मचारीलाई छिटै विदा दिन उनले आग्रह गरेका हुन् ।
भदौ २३ गते भगर्नर डा. अधिकारी र डेपुटी गभर्नरहरु र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु बेलुकासम्म राष्ट्र बैंकमै बसेर त्यसपछिको अवस्थाको बारेमा गृहकार्य गरेका कारण बैंकिङ प्रणाली निरन्तरतमा सहज भएको हो । यस्तै, गभर्नर डा. पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई पनि बेलुकासम्म बैंकमा बस्न र जोखिममा रहेका कर्मचारीलाई छिटै विदा दिने व्यवस्था मिलाउन भनेका थिए ।
भदौ २४ गतेको आमसंहारपछि गभर्नर डा. पौडेलले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित संघ संस्था र निजी क्षेत्रका व्यवसायीलाई बोलाएर नआत्तिन र संहालिएर अघि बढ्न आग्रह गरेका थिए । राष्ट्र बैंकको तर्फबाट दिनुपर्ने सुविधा उपलब्ध हुने भन्दै उनले बैंकर र व्यवसायीलाई कठिन अवस्थाको महसुस गरी उच्च मनोबलका साथ काम गर्न भनेका थिए ।
भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण भएको जनधनको क्षतिको अन्तिम विवरण अझै आइसकेको छैन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. पौडेलका दुबै निजी घर जलेका छन् । तर, उनी जलेर खरानी भएका पूर्वाधार निर्माण, निजी क्षेत्रको उद्योग व्यवसाय र थकित मनोबललाई उच्च बनाउन गम्भीर छलफलमा छन् । छलफलमा सहभागीहरु भन्छन्– गभर्नरको दृष्टिकोण बुझ्दा नेपाल राष्ट्र बैंक अहिले विगतमा जस्तो नोट छापेर बाँढी सस्तो लोकप्रियतातिर भन्दा पनि समस्याको समाधान गर्ने गरी परिपक्क कदम चाल्नेतिर अग्रसर देखिन्छ ।