
काठमाडौं । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनहरु परेका छन् ।
सर्वोच्च अदालतका अनुसार यो समाचार तयार पार्दासम्म आधा दर्जनजति रिट निवेदन पेश भइसकेका छन् । अरु निवेदनहरु पनि पेश हुने क्रममा रहेका सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सर्वाेच्च अदालत पनि आगो लगाएर ध्वस्त पारिएको थियो । सोही कारण सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो । गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरु दर्ता खुला गर्ने निर्णय गरेपछि रिट दर्ता हुने क्रम जारी छ ।
गत भदौ २३ र २४ गते जेनजी युवा प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संसद विघटन भएको थियो ।
त्यसपछि जेनजी युवा प्रतिनिधिको सिफारिसमेतको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असोज २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले २१ फागुनमा आम निर्वाचन गराउने म्यान्डेड पाएको छ ।