Odapalika - The Fourth Estate - चौथो अंग
नारायणीले थुनेर राखेका ९५ प्रतिशत विद्यार्थीको भविष्य अन्योलमा

नवलपरासी पश्चिम । ३ तिरबाट नारायणी नदी र एकतिरबाट भारतले घेरेको छ नवलपरासी बर्दाघाट पश्चिममा पर्ने सुस्ता गाउँपालिकाको सुस्ता गाउँ । 

वडा नम्बर ५ मा पर्ने यो गाउँमा जम्मा एउटा विद्यालय छ । जहाँ कक्षा ८ सम्म मात्र पढाइ हुन्छ । गाउँँका विद्यार्थी उत्साही भएर विद्यालय भर्ना हुन्छन् । कक्षा ८ सम्म पढ्छन् । । तर तिनै विद्यार्थीमध्ये ९५ प्रतिशत कक्षा ९ मा भर्ना नै हुँदैनन् । 

कारण ? 

९ कक्षा पढ्न भारत जाने कुरा भएन । नेपालतर्फ अहिलेसम्म कुनैपनि सरकारले एउटा पुल समेत बनाइदिएन । जसका कारण नारायणीको भेल तरेर दिनहुँ विद्यालय पुग्ने जोखिम मोल्नुभन्दा विद्यालय नै छाड्ने सजिलो विकल्प रोज्छन् विद्यार्थीले । 

कक्षा ८ भन्दा माथि अध्ययन गर्नका लागि नेपालतर्फ आउन नारायणी नदीमा पुल नहुँदा विद्यार्थी पठनपाठनबाट वञ्चित हुनुपरेको सुस्ता–५ का वडाध्यक्ष प्रभुनाथ अहिर बताउँछन् । 

जनता दलित आधारभूत विद्यालयमा कक्षा ८ सम्म मात्र पठनपाठन हुन्छ ।  ‘अधिकांश बालबालिका कक्षा ८ उत्तीर्ण गरेपछि विद्यालय जाँदैनन् । ८ कक्षाभन्दा माथि अध्ययन गर्नका लागि नेपालतर्फ आउन नारायणी नदीमा पुल नहुँदा विद्यार्थी पढाइबाट समेत बञ्चित छन्,’ वडाध्यक्ष अहिर भन्छन् । 

कक्षा ८ पास गरेपछि ९५ प्रतिशत विद्यार्थी नदी तरेर अर्को विद्यालय जान नसकेर बीचैमा पढाइ छाडिरहेका छन् । 

‘भर्नादर उत्साहजनक छ तर कक्षा ८ उत्तीर्ण गरेपछि अधिकांश बालबालिकाले पढाइ छाड्छन् । ५  प्रतिशत बालबालिकाले मात्रै विभिन्न ठाउँमा गएर कक्षा ८ पछिको पठनपाठनलाई निरन्तरता दिइरहेको पाएको छु,’ विद्यालयका सहायक प्रधानध्यापक अरन्जेव खानले भने । 

स्थानीयको आर्थिक अवस्थासमेत कमजोर छ । जसका कारण घरभन्दा बाहिर डेरामा राखेर पढाउने क्षमता अधिकांश अभिभावकमा छैन । आर्थिक हैसियत राम्रो हुनेले भारतसम्म लगेर  कक्षा ९ देखिको शिक्षालाई निरन्तरता दिएपनि भारत पुग्न नसक्ने र नेपालमै डेरा खोजेर बस्न नसक्ने विद्यार्थी चाहेर पनि पढ्न नपाइरहेको गुनासो अभिभावक गर्छन् । 

कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षकसमेत कम छन् । कम शिक्षकले धानेको यो विद्यालयमा शिक्षकसमेत नारायणी नदीको कहरका कारण भरसक सो विद्यालय आउन नपरे हुन्थ्यो भन्ने ठान्ने गरेको स्थानीयवासीहरुको गुनासो छ । 

संघीय, प्रदेश हुँदै स्थानीय सरकारसम्मले अहिलेसम्म न नारायणी नदीमा पुल बनाउन पहल गरे न सुस्ता गाउँमा कक्षा १२ सम्म पढ्न सकिने गरी विद्यालयको व्यवस्थापनमै ध्यान दिए । 

‘हामी टापुका मान्छे जस्ता भएका छौँ, गाउँका मान्छेपनि खास बोल्दैनन्, न पुल छ न पूर्वाधार यस्तो पनि देश हुन्छ,’ विद्यालयका एक शिक्षक नाम उल्लेख नगर्ने सर्तमा आक्रोस व्यक्त गर्छन् । 

सुस्ता गाउँपालिकाका अनुसार सुस्ता–५ मा अहिलेसम्म विद्यालयको कक्षा थप गर्ने कुनै योजना छैन । पालिकाका अनुसार गाउँलाई पालिकासँग जोड्न पुल बनाउने पर्याप्त बजेटसमेत छैन । संघीय या प्रदेश सरकारको बजेटले मात्र सुस्ता गाउँ जोड्ने पुल बनाउन सकिने गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय बताउँछन् । 

४ जना शिक्षकको दरवन्दी रहेको विद्यालयमा जम्मा पालिकाले २ जना शिक्षकको मात्र दायित्व व्यहोर्छ । बाँकी २ जना शिक्षकको दायित्व स्थानीयले नै व्यवस्थापन गरेका छन् । 

पक्की पुल बनाउने प्रयास सफल नभएपछि गाउँ जोड्न झोलुंगे पुला बनाउन थालेको पनि लामो सयम भएको छ । तर पुल अहिलेसम्म बनेको छैन । पुल संचालनमा आए विद्यार्थीको पठनपाठनमा सहज हुने स्थानीयको भनाइ छ ।     
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update