Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल–भारत–चीन जोड्ने सडकको ब्रेक थ्रुु, भोटखोला गाउँपालिकामा उत्सव 

काठमाडौँ । भारतको जोगवनी नाकाबाट सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ । 

सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्मको १५८ किलोमिटर सडकको ट्रयाक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो । 

खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगैसङ्घीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो ।

भोटखोला गाउँपालिका–१ च्याम्ताङमा सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो । उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्र्याक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाउने काम हुनेछ ।

कार्यक्रममा मन्त्री खड्काले खाँदबारी–किमाथाङ्का सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले  त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै बङ्गलादेशले फाइदा लिनसक्ने बताए । सडक  स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्री खड्काले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरे । 

नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुकको विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ ।  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिने बताए ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले उक्त सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।

सेनाले सडक निर्माणका लागि बजेट अपुग रहेकाले बजेट  सुनिश्चित गरे सडक चौडाइको काम चाँडो सम्पन्न गर्न सकिने जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update