
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाले सडक निर्माण गर्न दैनिक ५ घण्टा सडक बन्द गर्ने तयारी गरेको छ ।
सडक निर्माण सुस्त गतिमा अघि बढेको भन्दै चौतर्फी आलोचना भएपछि आयोजनाले दैनिक ५ घन्टा सडक बन्द गरेर कामलाई रफ्तार दिने तयारी गरेको जनाएको छ ।
सडक बन्द हुनेभएपछि आइतवार सरोकारवाला निकायका प्रमुखहरुले सडक निर्माणस्थलको अवलोकन समेत गरेका छन् । २०७९ पुस २४ गतेदेखि भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेको साँगाबाट धुलिखेलसम्म गरी दुईखण्डमा एकैसाथ आयोजनाले सडक विस्तार सुरु गरेको थियो ।
भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण तीव्रगतिमा अगाडि बढाउने र सडक बन्द गर्ने सवालमा हुने असरबारे जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा आयोजनादेखि भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुको टोलीले अनुगमन गरेका हुन् ।
प्रजिअ अर्याल र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको नेतृत्वमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापा, धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जू, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक बसुन्धरा खड्का, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपाने, भक्तपुर र काभ्रेपलाञ्चोकका ट्राफिक प्रहरी प्रमुखहरू तथा सम्बन्धित वडाअध्यक्षहरूलगायतको टोलीले सडक निर्माणको अनुगमन गरे ।
सडक विस्तारका क्रममा सडकका विभिन्न खण्डको निरीक्षण गर्दै ‘जिओ ग्रिडिङ’ प्रविधि प्रयोग गरिने स्थानबारे प्राविधिक जानकारीसमेत टोलीले लिएको थियो । सडक निरीक्षणका क्रममा टोलीले सडक निर्माणले थोरै मात्रामा यातायातमा असर पार्ने गरी काम अघि बढाउन आयोजनालाई सहमति दिएको प्रमुख जिल्ला अधिकार अर्यालले बताए ।