पाथीभरामा केबलकार निर्माण सुरु भएपछि सो क्षेत्रमा केबलकार बनाउनु हुन्छ र हुँदैन भन्ने विषयमा व्यापक बहस भइरहेको छ । वहस मात्रै होइन, पछिल्लो समय त हिंसात्मक आन्दोलन भएर यसले राष्ट्रिय राजनीतिक रुप पनि धारण गरिसकेको छ ।
केबलकार बनाउनु पर्छ भन्ने पक्षमा रहेकाहरु यसले विकासको ढोका खोल्छ भनिरहेका छन् । विकास परियोजनाको विषयलाई लिएर यो प्रकारको आन्दोलन हुनु देशका लागि दुर्भाग्य भएको केबलकार बनाउनु पर्छ भन्ने पक्षमा रहेकाहरुको तर्क छ ।
तर, पाथीभरा क्षेत्र लिम्बुहरुको पवित्रस्थल रहेको र त्यहाँ केबलकार बनाए धार्मिक आस्था र लिम्बुहरुको पवित्रस्थलमा क्षति पुग्ने केबलकार बनाउनु हुँदैन भन्ने पक्षको तर्क छ ।
अहिले देश संघीय संरचनामा छ । तीन तहका सरकारमध्ये स्थानीय सरकारले के सोचिरहेको छ भन्ने विषयमा यसअघि वडापालिका डटकमले फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनसँग टेलिफोन अन्तरवार्ता गरेको थियो । मेयर मादेनले जसरी भएपनि केबलकार बनाउनु पर्छ भन्ने अडान राखेका छन् ।
यस्तै, सोही क्षेत्रमा पर्ने अर्काे स्थानीय तह सिरीजङ्घा गाउँपालिका हो । सो गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार लिम्बु केबलकार बनाउने विषयमा स्थानीय जनता र स्थानीय सरकारसँग पर्याप्त छलफल नभएको बताउँछन् । प्रस्तुत छ ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. लिम्बुसँग गरिएको टेलिफोन अन्तर्वार्ता :
पाथीभरामा केबलकार बनाउने विषयमा आन्दोलन भइरहेको छ, यस विषयमा केही जानकारी लिन खोजेका थियौं !
म पनि टच (सम्पर्क) मा छैन । मेरो पूर्वपट्टि पर्छ । गाउँपालिका हाम्रै (सिरीजंघा) मा हो । फक्ताङलुङ, सिरीजंगा र फुङलिङलाई छुने हो । अहिलेसम्म आन्दोलन गर्नेहरुले पालिकासँग कुनै समन्वय र वार्ताको कुरा गरेका छैनन् । निर्माण पक्षले पनि औपचारिक रुपमा हामीसँग कुनै सरसल्लाह गरेको छैन । आन्दोलन छ भन्ने कुरा गाडी बन्द भएकोले थाहा भयो । आन्दोलनकारीको शर्तहरु फेसबुकबाट हेरिदै आएको छ । ती शर्तहरु उपयुक्त नै देखिन्छन् ।
तपाईंको विचारमा त्यहाँ केबलकार बनाउनु हुन्छ कि हुँदैन ?
धार्मिक संस्थामा केबलकार अनुपयुक्त छ । बनाउनु पर्छ भनेपनि सहमतिको आधारमा बनाउनु पथ्र्याे । पेलेर बनाउनु हुँदैन भन्ने हो । वार्ता संवादको माध्यमबाट अघि बढाउनु राम्रो हुन्थ्यो । केबलकार बनाउनु वैज्ञानिक कारणले पनि उपयुक्त हुँदैन ।
कस्तो वैज्ञानिक कारण ?
लिम्बुहरुले मुकुम्लुङ भन्छन्, नेपाली भाषामा पाथीभरा भनिन्छ । यो भाषाको कुरा भयो । मुकुम्लुङ भनेर लिम्बुहरुले ढुङ्गाको पुजा गरेको हो । त्यहाँ अरु ठाउँको भन्दा फरक खालको ढुङ्गा छ । हाम्रो बुझाईमा त्यो ढुङ्गामा शक्ति छ । अध्ययनले देखाए अनुसार शक्ति हुने ढुङ्गामा नेगेटिभ चार्जसहितको हुन्छ । चट्याङ पर्दा त्यो चट्याङ् नेगेटिभ चार्जतिर आएर बस्ने हो । पाथीभरामा भएको ढुंगामा नेगेटिभ चार्ज छ । त्यो अलि अग्लो ठाउँमा पनि छ । त्यसैकारण त्यस्तो ठाउँमा बढी चट्याङ पर्ने सम्भावना हुन्छ । त्यो ठाउँमा अशुद्ध मान्छे जादा चट्याङले हान्छ भन्ने किंबन्ति छ । पाथीभरा जाँदा चट्याङ्का कारण धेरै मान्छेको ज्यान गएको पनि छ ।
यसैकारण सो क्षेत्रमा केबलकार बनाएपनि चट्याङ्का कारण सफल नहुने जोखिम छ । वैज्ञानिक रुपमा यस्ता समस्या पनि आउँछ । आध्यात्मिक र आस्थाको हिसावले हेर्दा पनि केबलकार नबनाउँदा राम्रो हुन्छ । धरै धार्मिक तिर्थस्थलहरुमा बनाएका छैनन् । पर्यटकीय पार्कहरुमा बनाएको भए राम्रो हुन्थ्यो ।
तपाईं त गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ । विकास आयोजनाहरु गाउँमा आउँदा त्यसलाई सहजीकरण गर्नुपर्ने होइन र ?
सहजीकरण भनेको धेरै किसिमका हुन्छन् । धेरै तरिकाले हुन्छन् । सहजीकरण भनेर हामी झमेलामा पर्ने कुरा हुदैन । केबलकार निर्माणको लागि वातावरणीय प्रभाव अध्ययनको अनुमति स्थानीय सरकारले दिएको छैन । केन्द्रीय सरकारले दिएको हो । केन्द्रीय सरकारबाट हामी पन्छिनु पर्छ भन्न खोजेको होइन, त्यसमा हामी जिम्मेवार त हुनुपर्छ तर जिम्मेवार कसरी हुनुपर्छ भने स्थानीय सरकारलाई त्यस ठाउँमा काम हुँदैछ भनेर औपचारिक रुपमा जानकारी हुनुपर्छ । औपचारिक जानकारी पाएपछि मात्रै स्थानीय सरकारले यहाँ काम हुँदैछ, त्यसलाई सफल पार्नुपर्छ भनेर लाग्ने हो । अहिलेको यो प्रोजेक्ट चोर बाटोबाट आएको छ । स्थानीय सरकारसँग कुनै समन्वय गरेको छैन । यसमा केही त्रुटी छ जस्तो देखिन्छ । त्यसैकारण हामी बच्नुपर्छ भन्ने हो ।
केबलकार परियोजनाबाट आएको रोयल्टी बाँडफाँडमा स्थानीय सरकार पनि सहभागी हुने भन्ने कुरा आएको होइन र ?
संघ सरकार अन्तरगतका अन्य प्रोजेक्टहरुमा पनि सो स्थानमा यस्तो काम गर्न उपयुक्त छ कि छैन भनेर स्थानीय सरकारसँग सिफारिस माग्ने गरिन्छ । यो ठाउँमा यति रुख विरुवा काटिदैछ, ठिक छ कि छैन भनेर सिफारिस मागिन्छ । तर, यो विषयमा केबलकार बनाउने कम्पनीले केही मागेको छैन । प्रोजेक्ट डिपीआर गर्ने संस्थाले पहिला नै माग्यो होला । निर्माण हुँदैछ भनेर हामीलाई औपचारिक रुपमा जानकारी आएकै छैन ।
त्यसो भए केबलकार नबनाउने ?
एक जना निर्माण कम्पनीको इच्छाभन्दा हजारौं जनाताको इच्छा नेतृत्वले बुझिदिनुपर्छ । हामीले पनि निजी स्वार्थबाट हेर्ने हो भने बलियो मान्छेलाई साथ समर्थन दिने हो । जनताको सुख दुःखमा साथ दिन्छु भनेकोले हामी निर्वाचित भएका हौं । त्यसकारण एक जना व्यवसायी, एकजना धनाढ्य काम लाग्नुभन्दा हजारौं जनताको दुःख पीडा महत्वपूर्ण हुन्छ ।
एक जना व्यवसायी, एक जना धनाढ्यले बनाएको परियोजनाको कारण हजारौं जनताको रोजीरोटीमा सकारात्मक प्रभाव पार्ने र आर्थिक गतिविधि चलायमान हुने भयो भने त त्यसमा सरकारले सहजीकरण गर्नुपर्ने होला नि, हाेइन र ?
त्यो बुझिन्न । कसरी हुन्छ र त्यो ! के आधार छ ? यहाँ छलफलमा आउनु पर्यो नि । यो आधारले हामीले जनतालाई यति सेवा सुविधा दिने छौं, स्थानीय उत्पादन यति विक्री गराउँछौं, यति जनतालाई हामीले रोजगारी दिदैछौं भनेर हामीलाई प्रष्ट पार्नु पर्यो नि । हावाको तालमा सपनाको खेती गर्नु भएन नि । यथार्थ कुराहरु जनतामा पुग्नु पर्यो ।
फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले त भोटको राजनीतिका कारण यहाँका केही नेताहरुले फरक कुरा गरेका हुन् तर यो परियोजना जसरी भएपनि बनाउँनै पर्छ भन्नुभएको छ नि ?
फुङलिङ नगरपालिकाका मेयरसँग प्रोजेक्टका मालिकहरुले प्रष्ट ढंगले कुरा गर्नुभएको छ होला । प्रोजेक्टको परिकल्पनाको बारेमा उहाँले अध्ययन गर्नुभयो होला । उहाँले बुझ्नु भयो होला । त्यो प्रजेक्टले हाम्रो देशलाई, हाम्रो समाजलाई सकारात्मक प्रभाव पार्छ भने हामीले त्यो कुरा बुझिसकेपछि लाग्ने हो । सबै हिसावले यो परियोजना उपयुक्त छ भने त हामी पनि विकासको विरोधी होइनौं । हामीलाई यो परियोजनाले के राम्रो गर्छ भन्ने नै थाहा छैन ।
स्थानीय नेताहरु, स्थानीय बुद्धीजीवीहरु र स्थानीय सरकारहरु पनि आयोजनाले एक पटक हामीसँग छलफल गरोस भन्ने चाहन्छ भन्ने तपाईंको आशय हो ?
औपचारिक रुपमा, गाउँपालिकामा बसेर प्रोजेक्टका बारेमा छलफल गरौं । प्रोजेक्ट बनाउने भएपछि सार्वजनिक सुनुवाई गर्नुपर्ने नियम नै हो । लुकाएर किन काम गर्ने ? राम्रो काम देखाएर, प्रचार गरेर गर्ने हो ।
त्यस्तो छलफलले यो परियोजना ठिक छ भन्ने निष्कर्ष निकाल्यो भने सहयोग गर्न तपाईंहरु तयार हो ?
विकास हो, विकासले सकारात्मक हुन्छ, सबैलाई फाइदा हुन्छ भने हामीले विकास रोक्नु हुँदैन । तर, त्यसले असर गर्छ भने असर गर्ने काम अगाडि बढाउनु हुँदैन । अहिले त यसले असर गर्छ भन्ने पनि हामीलाई थाहा छैन, फाइदा हुन्छ भन्ने पनि थाहा छैन ।
त्यो क्षेत्रमा गैरलिम्बुले परियोजना बनाउन लागेको भनेर लिम्बुहरुले विरोध गरे भन्ने पनि सुन्न थालिएको छ, तपाईंलाई त्यस्तो लाग्छ ? तपाईंले त्यस्तो सुन्नुभएको छ ?
हुन सक्छ । माटोको माया आदिवासीहरुलाई मात्रै हुन्छ । हिजो जंगल फाँडेर बनाउनेहरुलाई बढी माया लागेको हुन सक्छ ।
यो परियोजनाको बारेमा अध्यक्षज्यूसँग छलफल गर्नुभएको छ ?
औपचारिक र सांगठानिक रुपमा यो कुरा आएको छैन । व्यक्तिगत रुपमा मात्रै कुराहरु आएका छन् । गाउँ कार्यपालिकामा प्रवेश नै भएको छैन ।