
काठमाडौँ । पार्टी हेडक्वार्टरले आन्दोलनरत शिक्षकका मागमा एैक्यवद्धता जनाएलगत्तै नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय सरकार प्रमुखहरुले धमाधम शिक्षकहरुका मागमा ऐक्यवद्धता जनाउन थालेका छन् ।
माओवादी केन्द्रले शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखी काठमाडौँ केन्द्रीत आन्दोलन गरेका शिक्षकहरुको मागमा एक्यवद्धता जनाइसकेको छ ।
नेपाल शिक्षक महासंघको ब्यानरमा भइरहेको आन्दोलनमा एक्यवद्धता जनाउँदै जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै संविधानसम्मत माग पुरा गर्न सरकारसमक्ष आग्रह गरेका छन् । माओवादी केन्द्रका तर्फबाट निर्वाचित मेयर पौडेलले आवश्यक समन्वय र सहजीकरण गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सातवटै प्रदेश सरकार र आन्दोलनरत शिक्षक महासंघका नाममा पत्र लेखेका छन् ।
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले यसअघि नै आन्दोलनमा उठेका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।
माओवादी केन्द्रले सरकारलाई दबाब दिन भन्दै आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थानीय सरकार प्रमुखहरुलाई आन्दोलनमा ऐक्यवद्धता जनाउन समेत भनिसकेको छ ।