
काठमाडौँ । नेकपा एमालेका नेता एवं सांसद शेरवहादुर तामाङले नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा क्षेत्र सुधारका लागि ११ वटा टिप्स दिएका छन् ।
उनले पन्तलाई बधाइ दिदै भनेका छन्, ‘जिम्मेवारी पटक पटक आउँदैन आएको बेलामा गरेर देखाउने हो, तपाईँले अहिले यो अवसर प्राप्त गर्नुभएको छ, त्यसैले तपाईँले यो अवसरलाई सदुपयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।’
यस्ता छन् शिक्षा क्षेत्रमा सुधारमा उनका सुझाव
१. विद्यालय शिक्षालाई बिहानी सिफ्टमा चलाउने ।
२. वर्तमान शिक्षक आन्दोलनलाई वार्ताद्वारा तत्काल समाधान गर्ने ।
३. विद्यालय शिक्षामा नेपाली मोरल एण्ड भ्यालुज पढाउने गरी नैतिक शिक्षाको पाठ्यक्रम तयार गर्ने ।
४. समृद्ध राष्ट्र निर्माण गर्ने आधार नै शिक्षा भएकोले विद्यालय शिक्षादेखि नै नेपाली उत्पादन, नेपालको माटो, नेपालको प्राकृतिक साधन स्रोत र नेपालमै हुने आम्दानीको बारेमा पढाउने व्यावसायिक शिक्षाको पाठ्यक्रम तयार गर्ने ।
५.डिप्लोमा पास गरेपछि मात्रै नेपाली विद्यार्थी विदेशमा पढ्न जाने व्यवस्था मिलाउन कोसिस गर्ने ।
६. विदेशी युनिभर्सिटीको सम्बन्धन प्राप्त कलेजहरूले जति पनि विद्यार्थी भर्ना गर्न पाउने तर नेपालका युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेजहरूलाई सीमित कोटा तोक्ने र नियोजन गर्ने कुरा तत्काल बन्द गर्ने ।
७. विद्यालयहरूको तत्काल म्यापिङ थाल्ने र विद्यालयहरूलाई मर्ज गरेर आवासीय सुविधासहितको बिग स्कुलको अवधारणा लागु गर्ने ।
८. विद्यालयहरूलाई दिउँसोको सिफ्टमा व्यावसायिक तालिम केन्द्रको रूपमा विकास गर्न कार्यक्रम अगाडि बढाउने ।
९.काम गर्दै पढ्दै कार्यक्रमको बारेमा अध्ययन थाल्ने ।
१०. प्राविधिक तथा व्यावसायिक शिक्षामा बढी ध्यान दिने ।
११. सम्भव भए सबै शिक्षक कर्मचारी तथा सरकारी तलव भत्ता खाने व्यक्तिहरूले सार्वजनिक विद्यालयहरूमा बालबच्चा पढाउनुपर्ने व्यवस्था लागू गर्ने ।