Odapalika - The Fourth Estate - चौथो अंग
आन्दोलन लम्बिदै गएपछि विद्यालय खोल्न स्थानीय तहले बढाए दबाब, कोही तलव रोक्ने, कोही मिति तोक्ने 

काठमाडौँ । स्थानीय सरकारहरुले विद्यार्थीको भविष्य र मनोविज्ञानको प्रश्न उठाएर सामुदायिक विद्यालयहरुलाई विद्यालय खोलेर पठनपाठन नियमित संचालन गर्न दबाब दिन थालेका छन् । 

नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्टै धेरै स्थानीय तहहरुले विज्ञप्तिमार्फत मिति तोकेरै विद्यालय संचालनका लागि निर्देशन दिएका छन् ।

दोलखाको  बैत्येश्वर गाउँपालिकालगायतले त गत ९ बैशाखबाटै विद्यालय खोल्न निर्देशन दिए पनि शिक्षकहरु विद्यालय पुगेका छैनन् । 

कतिपय पालिकाले विद्यालयमा पनि नदेखिने र आन्दोलनमा पनि नदेखिने शिक्षकहरुको तलव सुविधा रोक्का गर्ने चेतावनी दिएका छन् । 

२४ दिन अघि राष्ट्रिय शिक्षक महासंघको व्यानरमा शिक्षकहरुले विद्यालय शिक्षा ऐनको माग राखेर काठमाडौँ केन्द्रीत आन्दोलन थाल्दा अधिकांश स्थानीय तहले समर्थनसहित विज्ञप्ति जारी गरेका थिए । 

तर आन्दोलन अवधि लम्बिदै गएको र वार्तामा बस्नसमेत इन्कार गर्दै आएको भन्दै स्थानीय तहहरु विद्यालय शिक्षकहरुप्रति कठोर बन्न थालेका छन् । 

चितवनको कालिका नगरपालिकाले १५ वैशाखबाट विद्यालय खोल्न निर्देशन दिएको छ भने गुल्मीको कालीगण्डकी गाउँपालिकाले १४ बैशाखबाट विद्यालय खोल्न निर्देशन दिइसकेको छ । 

सल्यानको शारदा नगरपालिकाले पनि १४ बैशाखबाट विद्यालय संचालन गर्न नगरपालिका मातहतका सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update