
काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलनरत शिक्षकहरुलाई तलव दिन्न भन्ने राजीनामा दिनु भन्ने जस्ता धम्की नदिन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।
शिक्षक आन्दोलन चर्कदै जाँदा स्थानीय तहहरुले कसैले १४ बैशाख (आज) र कसैले १५ बैशाख भोलिबाट विद्यालय खोल्न र नखोले तलव रोक्ने, राजीनामा दिने भन्दै आएका छन् । महासंघले यस्ता धम्क्याउने कार्य नगर्न स्थानीय तहहरुलाई आग्रह गरेको छ ।
कतिपय स्थानीय तहले शिक्षकहरुलाई धम्की दिने कार्य जारी राखेको भन्दै यस्ता कार्यबाट विचलित नहुन पनि शिक्षक महासंघले अनुरोध गरेको छ ।
महासंघले विज्ञप्तिमार्फत आन्दोलनमा सरकारले बल प्रयोग गरी २६ जना शिक्षकहरुलाई घाइते बनाएको भन्दै संयम बन्न आग्रह पनि गरेको छ ।
महासंघले विद्यालय शिक्षा ऐन जारी गर्ने अन्तिम र निर्णायक आन्दोलनमा होमिन देशभरका शिक्षकलाई आग्रह गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलबहादुर थापाले संयुक्त विज्ञप्ति तथा बेग्लाबेग्लै अपीलमार्फत घरमा नबस्न र आन्दोलनका लागि काठमाडौँ आउन भनेको छ ।