हुप्सेकोटका छोरीको खातामा स्थानीय सरकारको ५ हजार, अभिभावकले कति थप्दैछन् ? 

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरुलाई ५ हजार रुपैयाँसहितको बैंक खाता उपहार दिएको छ । 

‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक खातामा उक्त रकम जम्मा गरिएको हो । 

हुप्सेकोट गाउँपालिकामा स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद उक्त रकम जम्मा गरिदिने गरेकोे हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । 

उनका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म जन्मिएका ५६ जना छोरीहरुको बैंक खातामा ५ हजार रुपैयाँका दरले २ लाख ८० हजार रुपैयाँ निकासा भइसकेको छ । यसमा अभिभावकलाइ कम्तीमा ५ हजार रुपैयाँ थप जम्मा गर्न पािलकाले आग्रह पनि गरेको छ । 

छोरीको नाममा बैंक खातामा जम्मा भएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताइन् । 

हुप्सेकोट गाउँपालिकाले आव २०७७/७८ देखि यो कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममार्फत हालसम्म ३१२ जना छोरी लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए ।

उक्त कार्यक्रम सञ्चालन भएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भपरीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकास भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update