
काठमाडौँ । देशका २ वटा महानगरपालिकाहरुले विद्यालयको पठनपाठन नियमित गर्न शिक्षकहरुलाई अनुरोध गरेका छन् ।
पोखरा महानगरपालिकाले १७ गते र ललितपुर महानगरपालिकाले १६ गतेबाट सामुदायिक विद्यालयको पठनपाठन संचालन गर्न शिक्षकहरुलाई भनेको हो ।
‘प्रस्तुत विषयमा यस महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ,’ ललितपुर महानगरको पत्रमा लेखिएको छ, ‘उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम यस महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरू मिति २०८२/१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ ।’
सर्वोच्च अदालतले गत बिहीबार देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नु, नगराउन अन्तरिम आदेश जारी गरेपछि स्थानीय तहहरुले धमाधम विद्यालय खोल्न भनिरहेका छन् ।