काठमाडौँ । हुम्ला सदरमुकामसमेत पर्ने सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
पालिकाका सबै ८ वटै वडाहरू पूर्ण खोप सुनिश्चित भइसकेको र गाउँपालिकास्तरबाट अनुगमनका क्रममा निर्धारित उमेर समूहका बालबालिका सबै खोप लगाएका भेटिएपछि शनिवार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
सबै वडा पूर्ण खोप सुनिश्चित घोषित भइसकेपछि गरिएको अनुगमन, स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार घरधुरी सर्वेक्षणका क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिका ५५५ जना रहेको पाकिलाको स्वासथय शाखाले जनाएको छ । शाखाका अनुसार खोप लिइरहेका जन्मेदेखि १५ महिनासम्मका बालबालिका भने १८४ जना छन् ।
गाउँपालिकाका अध्यक्ष विजय भण्डारीका अनुसार सबै मापदण्ड पुरा भएका कारण पालिकालाई खोप सुनिश्चित घोषणा गरिएको हो ।
कार्यक्रममा खोप अभियानलाई सहयोग गर्ने पत्रकार महासङ्घ हुम्लाका अध्यक्ष राजन रावत, रेडियो कैलाशका जनक शाही, अन्नपूर्णकर्मी नरजङ्ग तामाङ र रेडियो कर्णाली आवाजका ऐटन रावललाई कदरपत्रले सम्मान गरिएको छ । साथै सबै वडाका स्वस्थ्यकर्मीलाईसम्मान गरिएको छ ।