
काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिकाले एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता प्रदान गरेको छ ।
आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई सहयोग प्रदान गरिएको पालिकाको भनाइ छ ।
गाउँपालिकाले सङ्क्रमितको जीवनशैलीमा परिवर्तन ल्याउनाका साथै पोषण स्थितिमा सुधार ल्याउन वार्षिक रूपमा यातायात खर्चबापत लाग्ने रकम सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए ।
एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्दै आएको ‘हाम्रो जीवन प्लस’द्वारा सङ्कलित तथ्याङ्क र व्यक्तिले दिएको निवेदनका आधारमा यातायात खर्चको रकम सम्बन्धित व्यक्तिको बैङ्क खातामा पठाइदिने व्यवस्था गरिएको अध्यक्ष पाण्डे बताउँछन् ।
गाउँपालिकाले यस वर्ष २५ जना सङ्क्रमितका लागि उक्त रकम उपलब्ध गराइसकेको पालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल भण्डारीले बताए । एचआइभी सङ्क्रमित हरेक तीनतीन महिनामा स्वास्थ्य जाँच र औषधिका लागि अनिवार्य रूपमा एआरटी केन्द्रसम्म पुग्नुपर्ने हुन्छ ।त्यवती गाउँपालिकामा हाल ३६ जना एचआइभी सङ्क्रमित रहेपनि २५ जनाले मात्र उक्त सहयोग लिएको पालिकाले जनाएको छ ।
संस्थाले जन्मेदेखि १८ वर्षसम्मका एचआइभी सङ्क्रमित बालबालिकाका लागि शिक्षा र स्वास्थ्यमा राहत पुगोस् भन्ने उद्देश्यले मासिक २ हजार रुपैयाँका दरले सहयोग गरिरहेको छ ।