डडेल्धुरामा कांग्रेस महाधिवेशनको नाममा रमिताः एनजिओले मान्छे खोज्ने, भीमबहादुरको होटलले सभापति तोक्ने

काठमाडौँ । असोज ३ गतेदेखि गगन थापा पक्षले नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लागि वडा अधिवेशन सुरु गरेको छ । आफैले बोलाएको विशेष महाधिवेशनबाट सभापतिमा निर्विरोध चयन भएको घोषणा गरिएका गगन थापाले पार्टीको १५औं केन्द्रीय महाधिवेशनको प्रक्रिया असोज ३ देखि सुरु गराएका हुन् ।

अधिवेशनको क्रममा देशभर भएका अनौठा घटनाको विवरण प्राप्त हुन थालेका छन् । देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुले वडापालिकालाई दिएको जानकारी अनुसार गगन थापा पक्षले सुरु गरेको वडा अधिवेशनमा देशभर अनौठा र गैरराजनीतिक गतिविधिहरु भएको तथ्य खुलेको छ ।

यसैक्रममा नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापति बनेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको विवरण प्राप्त भएको छ । 

डडेलधुरा जिल्लामा ७ वटा स्थानीय तह (पालिका) र ५२ वटा वडा छन् । गगन थापा पक्षको कांग्रेसले असोज ३ गते वडा अधिवेशन सुरु गरेको छ । तर, सो जिल्लाको वडा अधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक नगरी तथा मतदान अधिकृत नै गोप्य राखिएको स्थानीय कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।

प्राप्त जानकारी अनुसार वडा अधिवेशन भनिए पनि सो कार्यको सबै चाजोपाजो गगन पक्षको डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउदको होटल राइनोबाट सम्पन्न भएको छ । र, वडाहरुबाट प्रधिनिधि र पदाधिकारी छनोटको लागि कांग्रेस नेता नैनसिंह महरको एनजिओले खोज्ने गरेको स्थानीय नेताहरुले जानकारी दिए ।

‘यो जिल्लामा नैनसिंह महरजीको एनजिओ प्रभावशाली छ । सो एनजिओले वडाका प्रतिनिधि र पदाधिकारी यो–यो हुन्छ भनेर छनोट गर्ने गरेको छ । सो एनजिओले छानेका व्यक्तिहरुलाई भीमबहादुर साउदको होटल राइनोमा बसेर केही मान्छेहरुले निर्वाचित भएको प्रमाणपत्र वितरण गरिरहेका छन् । केही पदमा मान्छे नपुगेपछि फोन गर्दै तिमीलाई फलानो पदमा राखेको छु है भन्ने गरिएको पनि रहेछ,’ डडेल्धुराका एक कांग्रेस नेताले वडापालिकासँग भने ।

नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पनि स्वभाविक रुपमा अधिवेशन संचालन नभएको बताए । उनले जिल्ला कार्यसमितिले अधिवेशन सुरु गर्ने निर्णय नगरेको, मतदाता नामावली सार्वजनिक नभएको, मतदान अधिकृत को हो भन्ने यकिन नभएको र पालिका अधिवेशनको लागि पनि मतदान अधिकृत गोप्य राखिएको बताए ।

‘म नेपाली कांग्रेसको ९औं महाधिवेशनदेखि सहभागी हुँदै आएको छु । विगतमा पनि पार्टी सत्ता र राज्यसत्ता प्रयोग गरेर ममाथि अन्याय गरिएको थियो । तर, यस्तो अनौठो अधिवेशन मैले कहिल्यै देखेको थिइनँ । ७० प्रतिशतभन्दा बढी कांग्रेसीहरुलाई यो अधिवेशनप्रति कुनै चासो छैन, उनीहरु सहभागी पनि छैनन् । तर, कुनै होटलमा कसैले कांग्रेसको पद बाड्दै प्रमाणपत्र दिइरहेको छ भन्ने सुनेको छु,’ डडेल्धुराका पूर्वसभापति मल्लले वडापालिकासँग भने ।

उनले डडेल्धुरा– १ मा सम्पन्न जिल्लास्तरीय नेता तथा कार्यकर्ता भेलापछि जिल्ला कार्यसमितिको बैठकसमेत नराखी अधिवेशन प्रक्रिया अघि बढाइएको बताए ।

मल्लका अनुसार भेलामा सहभागी अधिकांश नेता तथा कार्यकर्ताले जिल्लामा पार्टीभित्र विभाजन उत्पन्न हुन नदिने गरी उपयुक्त निर्णय लिन दबाब दिएका थिए । तर, त्यसको विपरीत अधिवेशनको प्रक्रिया अघि बढाइएको छ । 

२०७८ सालमा भएको डडेल्धुरा कांग्रेसको जिल्ला अधिवेशनलाई लिएर आफूहरूले गाउँदेखि केन्द्रसम्म संघर्ष गरेको स्मरण गर्दै मल्लले अहिले पनि पार्टी विधि, प्रक्रिया र आम सहभागितालाई बेवास्ता गरेर अधिवेशन गरिएकोले आफू सहभागी नहुने घोषणा गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update