
काठमाडौँ । अनुभवको नक्कली कागजपत्र पेश गरी टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष बनेका भूपेन्द्र भण्डारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा परेका छन् ।
अख्तियारले अध्यक्ष भण्डारी पेश गरेका अनुभवको कागजपत्र अनुसन्धान गर्न लागेको छ । तत्कालिन संचार मन्त्री रेखा शर्माको सल्लाहकार समेत रहेका भण्डारीले अनुभवको नक्कली कागज पेश गरेर प्राधिकरणको अध्यक्ष बनेको तथ्य वडापालिकाले सार्वजनिक गरेको थियो ।
अध्यक्ष भण्डारीले पेश गरेका अनुभवका काजगपत्रको अनुसन्धान गर्नको लागि अख्तियारले संचार तथा सुचना प्रविधि मन्त्रालयसँग उनले पेश गरेका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको छ । अख्तियारले गत बैशाख १६ गते मन्त्रालयसँग भण्डारीले पेश गरेका कागजात माग गरेको हो ।
‘नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको अध्यक्ष पदमा नियुक्त हुनको लागि पेश गरेका अनुभवका प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपीहरुको स्पष्ट बुझिने (चार कुना देखिएको) २/२ प्रति प्रतिलिपी तहाँ कार्यालयले समेत प्रमाणित गरी १५ (पन्द्र) दिनभित्र यस आयोगको महाशाखा नं.–९ (शैक्षिक प्रमाणपत्र छानविन) मा उपलब्ध गराई दिनुहुन निर्णयानुसार अनुरोध छ,’ आयोगले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।
के हो प्रकरण ?
अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजातमा नेपालको कम्पनीमा काम गरेको समयमा नै विदेशी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा काम गरेको उल्लेख छ । एकैपटक नेपालको कम्पनी र बुरुण्डीको कम्पनीमा काम गरेको अनुभव पेश गरेका कारण भण्डारीको सो कागजात शंकास्पदसमेत देखिएको हो ।
भण्डारीले संचार तथा सुचना प्रविधि मन्त्रालयमा पेश गरेको कागजातमा सन् २००८ को जनवरी २० सम्म नेपालमा रहेको तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइल ९अहिलेको एनसेल० मा डेपुटी चिफ फाइनान्स अफिसर पदमा काम गरेका छन् । यस्तै, उनले पेश गरेको अर्को कागजातमा बुरुण्डीमा रहेको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा १ जनवरी २००८ देखि ११ जनवरी २०१६ सम्म काम गरेको देखिन्छ ।
अर्थात १ जनवरी २००८ देखि २० जनवरी २००८ सम्म उनले नेपालको राजधानी काठमाडौँमा तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइलमा डेपुटी चिफ फाइनान्स अफिसरमा काम गरेका थिए भने सोही समयमा अफ्रिकी देश बुरुण्डीको बुजम्बुरामा रहेको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको पदमा रहेर काम गरेको भन्दै अनुभवको कागजात पेश गरेका छन् ।
यसको अर्थ के हो भने भण्डारी सो समय कि नेपालको स्पाइस नेपालमा कार्यरत थिएनन्, कि बुरुण्डीको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिएनन् ।
तत्कालिन संचार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माको सल्लाहकार रहेका भण्डारी मन्त्रीको सल्लाहकार पदमा रहेकै समयमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए । प्राधिकरण संचार तथा सुचना प्रविधि मन्त्रालय अन्तरगत पर्ने नियामक निकाय हो । तत्कालिन मन्त्री शर्माले आफ्नै सल्लाहकारलाई प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको भन्दै सोही समयमा पनि उनी र अध्यक्ष भण्डारीमाथि नैतिकताको प्रश्न समेत उठेको थियो । यद्यपि, मन्त्री शर्मा र अध्यक्ष भण्डारीले यो नैतिक प्रश्नप्रति पूर्णत बेवास्ता गरेका छन् ।
तत्कालिन मन्त्री शर्मा र अध्यक्ष भण्डारीले नैतिक प्रश्नप्रति बेवास्ता गरेपनि अब भने कानुनी प्रश्न पनि उठ्ने देखिएको छ । अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजातमा उनले सन् २००८ को जनवरी १ देखि २० सम्म नेपालको स्पाइस नेपाल, मेरो मोबाइलमा काम गरेका थिएनन् कि बुरुण्डीको लासेल एसयुमा काम गरेका थिएनन् भन्ने गम्भीर प्रश्न उठेको छ ।
अर्को रोचक विषय के छ भने तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइल अहिले एनसेल भएको छ । टेक्नोलोजी खबर डटकमका अनुसार बुरुण्डीमा रहेको लासेल एसयु कम्पनी सरकारी बक्यौता तिर्न नसकेर सन् २०२२ मा नै बन्द भइसकेको छ । अध्यक्ष भण्डारीले बुरुण्डीको बन्द भइसकेको कम्पनीमा कार्यरत रहेको अनुभव पेश गरेर नियुक्ति लिएका छन् ।
सम्बन्धित समाचार
- नक्कली कागजपत्र पेश गरेको अभियोगमा दूरसंचार प्राधिकरणका अध्यक्ष भण्डारी विरुद्ध अख्तियारमा उजुरी
- दूरसंचार प्राधिकरणका अध्यक्ष भण्डारीको अनुभवको कागजात नै नक्कली
- पूर्वराजाका ज्वाईंसँग दुरसंचार अध्यक्षको अनौठो प्रेम, कानुन नटेर्दा पनि युटिएलले पायो यस्तो छुट
- प्रचण्ड सरकार ढलेको प्रतिशोध ओली सरकारसँग साध्दै एनटिए अध्यक्ष भण्डारी, दूरसंचार क्षेत्रको काम ठप्प
- दूरसंचार प्राधिकरणको बद्मासीः उपभोक्ताको ढाड सेक्ने, सेवा प्रदायकको मुख मोस्ने, प्राधिकरण पोस्ने ?