काठमाडौँ । दुरसंचार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीलाई हिरासतमुक्त गर्न अदालतले अस्वीकार गरेको छ ।
भण्डारीकी श्रीमती दिप्ती बस्नेतले दिएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा अदालतले उनलाई छोड्न अस्वीकार गर्दै हिरासतमा राख्नुको कारण माग गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश शान्तिसिंह थापाको इजलासले कारण देखाउ आदेश मात्रै जारी गरेको हो ।
भण्डारीकी श्रीमती बस्नेतले साउन २१ गते सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा दर्ता गरेकी थिइन् । सोही मुद्दाको सुनुवाई गर्दै सर्वाेच्चले कारण देखाउ आदेश मात्रै जारी गरेको हो ।
भण्डारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले साउन १५ गते सरकारी नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको अर्बौँ मूल्य बराबरको सम्पत्ति र पूर्वाधार गैरकानुनी रूपमा लिलामी एवं हिनामिना गरेको अभियोगमा पक्राउ गरेको थियो । सिआइबीले अनुसन्धानका लागि म्याद मागेपछि जिल्ला अदालत काठमाडौँले साउन २० गते भण्डारीमाथि थप अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको थियो ।
भण्डारीलाई यसअघि अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । भण्डारीमाथि ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



