काठमाडौँ । नेपालमा कानुनले पूर्णतः प्रतिबन्ध लगाएको अनलाइन सट्टेबाजी (बेटिङ) को जालो झन् झन् गहिरिँदै गएको पाइएको छ । सरकारले बेटिङ साइटहरूमाथि प्रतिबन्ध लगाएको दाबी गरिरहँदा यसका अवैध गतिविधिहरु भने निर्वाध रुपमा भइरहेको छ ।यतिसम्म कि देशका स्थापित टेलिभिजन च्यानलहरूबाट नै सरोगेट (छद्म) विज्ञापन भइरहेको छ ।
स्रोतका अनुसार, यसबारेमा सरकारी निकायले शूक्ष्म अनुसन्धान गरिरहेको छ । सट्टेबाजीको यो खेलमा मिडिया हाउस र एजेन्टहरूबीच नै ठुलो आर्थिक चलखेल भइरहेको र यसको फाइल खुल्ने क्रममा रहेको बुझिएको छ ।
यस्तैमध्येको एउटा बेटिङ साइट हो मेलबेट । कानुनी रूपमा प्रतिबन्धित मेलबेट नामक सट्टेबाजी प्लेटफर्मले कानुनी छिद्रको फाइदा उठाउँदै मेलब्याट लाइभको नाममा विज्ञापन गरिरहेको स्रोतको भनाइ छ । ई’ लाई ‘ए’ बनाएर समाचार पोर्टलको मुखुण्डो भिर्नु नै यसको मुख्य चाल भएको बताइएको छ । यस्तै वानएक्क्स बेटको पनि उस्तै छ ।
केहीअघि कान्तिपुर टेलिभिजनले सुरु गरेको यो शृङ्खला एभिन्युज, न्युज २४ र प्राइम टाइम्स जस्ता अन्य च्यानलहरूमा पनि सर्यो । समाचार वाचन गर्ने डेस्कमै मेलब्याट लाइभको लोगो राखेर सञ्चालकहरूले दर्शकलाई झुक्याउने र अवैध जुवाप्रति आकर्षित गर्ने काम गरिरहेका थिए । सरकारले हालै निर्णय गरेपछि यसमा केही नियन्त्रण जस्तो देखिएपनि कम्पनीले खलखेल जारी राखेको स्रोतको भनाइ छ ।
प्राप्त जानकारी अनुसार, यस अवैध धन्दामा विभिन्न तहका एजेन्टहरू सक्रिय छन् । अनुसन्धान ब्युरोले यसलाई गम्भीरताका साथ लिँदै केसका फाइलहरू धमाधम खोल्न थालेको छ । हालमसम्मको अध्ययनअनुसार यसले के पुष्टि गर्छ भने, सट्टेबाजीको यो खेल केवल अनलाइनमा मात्र सीमित छैन, यसको नेपथ्यमा ठुलो गिरोहको समेत मिलेमतो हुनसक्ने आशङ्का गरिएको छ ।
सिमिलर वेबको तथ्याङ्कले मेलबेटका ९९ प्रतिशत प्रयोगकर्ता नेपाली नै रहेको देखाएको छ । नेपाली प्रयोगकर्तालाई विश्वासमा लिन यसले आफ्नो लोगोमा नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्ने र इसेवा, खल्ती, आईएमई पे जस्ता डिजिटल वालेटको लोगो राखेर कारोबार सहज रहेको भ्रम छर्ने गरेको छ ।
जुवा ऐन २०२० र विज्ञापन (नियमन गर्ने) ऐन २०७६ ले कुनै पनि प्रकारको जुवा वा सट्टेबाजीको विज्ञापनलाई निषेध गरेको छ । सर्वोच्च अदालतले समेत २०७९ सालमै यस्ता सरोगेट विज्ञापन नगर्न र नगराउन अन्तरिम आदेश जारी गरिसकेको छ ।
तर, विज्ञापन बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणको मौनताले गर्दा यी प्लेटफर्महरू नयाँ–नयाँ डोमेन मार्फत नेपालमा निर्वाध चलिरहेका छन् ।
सरकारले एकातिर बेटिङ बन्द गराएको दाबी गर्ने तर अर्कोतिर चलखेलमा यसको प्रचार भइरहनुले राज्य संयन्त्रमाथि नै प्रश्न उठाएको छ । व्यावसायिक लाभका लागि नेपाली युवालाई जुवाको लतमा फसाउने यो ‘अपराधिक’ कार्य तत्काल रोकिनु जरुरी रहेको सरोकारवालाको भनाइ छ ।







