Odapalika - The Fourth Estate - चौथो अंग
सिंहदरवारभित्रको जुलुस देख्दैन राजावादीलाई सिफल लखेट्ने काठमाडौँ सिडिओ अफिस

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सिडिओ ऋषिराम तिवारीले १९ जेठबाट लागु हुनेगरी २ महिनाका लागि सिफल, कोटेश्व्र र बल्खुक्षेत्रबाहेक काठमाडौँका सबै क्षेत्रमा धर्ना, जुलुस, घेराउ, प्रदर्शन र अनसन बस्न निषेध गरेका छन् । 

उनले सार्वजनिक गरेको सूचना कार्यान्वयनमा आएको भोलिपल्ट (२० जेठमा) राजावादीहरुले काठमाडौँको सिफल पुगेर राजतन्त्रका पक्षमा आन्दोलन गरे । 

राजतन्त्रवादीहरुको आन्दोलनलाई नै लक्षित गरेर निषेधाज्ञा लगाइएपछि राजतन्त्र पक्षधर सिफलमा केन्द्रीत भयो । तर काठमाडौँको मुटु र प्रशासनिक केन्द्र सिंहदरवारमा भने कार्यालय समय सुरु नहुँदै गज्जवको दृष्य देखियो । 

सिंहदरवारभित्रै कार्यरत सरकारी कर्मचारीले काठमाडौँ सिडिओको आदेशविपरित सिंहदरवारभित्रै धर्ना र नारावाजी गरे । तर काठमाडोँ प्रशासन भने सूचना नै नपाएको बताउँछ । 

सिडिओको सुचना अनुसार सिफल, कोटेश्वर र बल्खु बाहेकका काठमाडौँका कुनैपनि स्थानमा धर्ना दिन पाइदैन । तर सुरक्षाका हिसावले समेत संवेदनशील मानिएको सिंहदरवारभित्रै आन्दोलन र धर्ना हुँदा भने सिडिओ कार्यालय निरीह बनेको छ । 

कर्मचारीहरुले संघीय निजामती सेवा विधेयकका प्रावधान सच्याउन दवाव दिने भन्दै सिंहदरवारभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अघि धर्ना दिदै आएका छन् । उनीहरुले २३ जेठसम्म मन्त्रालय अघि धर्ना जारी राख्ने भनेका छन् । 

धर्नास्थल अगाडिनै प्रहरकिो ठूलो समूह रमाइलो मानेर दैनिक हेरिरहकाे छ । तर ती प्रहरीलाई परिचालन गर्ने अख्तियारी राख्ने सिडिओको आदेश पालना भने कतैबाट भएको छैन । 

यस विषयमा जिज्ञसा राख्दा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले भने तत्काल सूचना नपाएका कारण आफ्नो आदेश कार्यान्वयन नभएको हुनसक्ने बताए । 

वडापालिकासँग उनले भने, ‘सिंहदरवारभित्र पनि पछिल्लो निषेधको आदेशअनुसार धर्ना दिन पाइदैन, धर्ना दिएको सूचना नपाएर आदेश कार्यान्वयनमा समस्या भएको हुनसक्छ ।’

प्रवक्ताको जिम्मेवारीमा समेत रहेका भण्डारीले आफु पनि जिल्ला सुरक्षा समितिको सदस्य भएकाले यो विषय सुरक्षा समितिमा राख्ने र तत्कालै एक्सनमा जाने प्रतिवद्धता जनाएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update