Odapalika - The Fourth Estate - चौथो अंग
चंंखेलीबाहेक हुम्लाका सबै स्थानीय तहमा लागु भयो स्थानीय पाठ्यक्रम 

काठमाडौँ । हुम्लाका ६ वटा स्थानीय तहले सामुदायिक विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गरेको छ । 

स्थानीय समुदायमा रहेका भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदा जगेर्ना गर्न स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वय मार्गदर्शन २०७६ अनुसार ती स्थानीय तहले पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएका हुन् । 

स्थानीय पाठ्यक्रमको उद्धेश्य बालबालिकालाई आफ्नो परिवेशबाट सिक्न, नजिकको वातावरण, भूगोलबारे बुझ्न, सम्बन्धित ज्ञानको उत्खनन गर्न, समुदायमा रहेका मूल्य, मान्यता र ज्ञान परीक्षण गर्न उत्प्रेरित गर्ने रहेको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया बताउँछन् । 

स्थानीय पाठ्यक्रम सम्बद्ध सबैका लागि उपयागी हुने विश्वास लिइएको अदानचुली गाउँपालिकाको पाठ्यक्रम निर्माण विज्ञ सदस्य डा. दीपेन्द्र रोकायाको भनाइ छ । 

७ गाउँपालिका भएको हुम्लाका ५ स्थानीय तहहरु नाम्खा, सिमकोट, खार्पुनाथ, ताँजाकोट र सर्केगाडले यसै शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू गरिसकेका छन् भने अदानचुली गाउँपालिकाले भर्खरै निर्माण गरेको भए पनि यसै वर्षबाट लागू गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारीले बताए । चंखेली गाउँपालिकाले भने आगामी वर्षबाट स्थानीय पाठ्यक्रम लागू गर्ने बताएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update