
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहका जनप्रतिनिधिलाई आफू निर्वाचित भएयता गरिएका सबैखाले विदेश भ्रमणको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ ।
महालेखापरीक्षाको कार्यालयले अधिकांश स्थानीय तहमा विदेश भ्रमणका नाममा मनपरी सरकारी रकम खर्च भइरहेको प्रतिवेदन सार्वजनिक गरेलगत्तै संघीय सरकारले भ्रमणको विवरण मागेको हो ।
मन्त्रालयका सचिव रविलाल पन्थले २८ जेठमा देशभरका सबै स्थानीय तहका जनप्रतिनिधिसँग वैदेशिक भ्रमणको विवरण माग्ने निर्णय गरेका थिए । सो निर्णयलाई आज मन्त्रालयले देशभरका स्थानीय तहमा पठाएको छ ।
मन्त्रालयले आगामी १० दिनभत्रिमा मागेको विवरणमा भ्रमण गरेको देश तथा सहरको नाम, भ्रमण अवधि, भ्रमणको उद्देश्य, निमन्त्रणा गर्ने निकाय, भ्रमण गर्ने व्यक्ति र भ्रमणको खर्च व्यहोर्ने श्रोतको विवरण दिन भनेको छ ।