Odapalika - The Fourth Estate - चौथो अंग
गण्डकी प्रदेशका ४ जिल्लाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चित 

काठमाडौँ । गण्डकी प्रदेशका ४ वटा जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । तनहुँ, बागलुङ, म्याग्दी र मनाङका सबै स्थानीय तहले आफुलाई यो घोषणा गरेपछि जिल्लालाई पनि गरिएको हो । 

जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि चारवटै जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो ।प्रदेशका बाँकी ७ वटा जिल्ला पनि पूर्णखोप सुनिश्चितताको अभियानमा जुटेका छन् । आगामी असारभित्रमा ती जिल्ला पनि पूर्णखोप सुनिश्चित जिल्लाका रूपमा घोषणा हुने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

तनहुँ र बागलुङलाई शुक्रबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । म्याग्दीलाई गत वैशाख २८ गते र मनाङलाई यही जेठ ७ गते घोषणा गरिएको थियो । पहिलोपटक २०७५ सालमा गण्डकी प्रदेश नै पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको हो । 

जिल्ला खोप समन्वय समिति बागलुङका सदस्यसचिव घनश्याम सापकोटाले जन्मेदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको बताए ।  जिल्लाका तीन हजार ५५२ बालबालिकाले उमेरअनुसार पाउनुपर्ने सबै खोप पाएका छन् । 

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले खोप कार्यक्रम तीनै तहका सरकारको प्राथमिकतामा रहेको बताए । नियमित खोप पाउनु बालबालिकाको अधिकार रहेकाले उनीहरूलाई खोप दिलाउनु राज्यको दायित्व रहेको उनको भनाइ छ । प्रदेशका झन्डै २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update