Odapalika - The Fourth Estate - चौथो अंग
संविधानले व्यवस्था गरेको १० वर्षपछि महाभारत सरकारले भन्योः अब निःशुल्क र अनिवार्य शिक्षाको ज्ञारेन्टी भो 

काठमाडौँ । काभ्रेपलाञ्चोकका स्थानीय तहहरुले धमाधम ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागू गर्ने घोषणा गर्न थालेका छन् । 

थप ३ वटा गाउँपालिका यो अभियानमा जुटेका छन् भने  महारभात गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको घोषणा गरेको छ ।

शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएपछि गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । 

जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले उक्त गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा गरे । नेपालको संविधान र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

उक्त पालिकाभित्र आठवटा वडामा ५० विद्यालय छन् । तीन हजार ४८४ घरपरिवारमा हाल सर्वेक्षण गर्दा विद्यालय उमेरका पाँचदेखि १३ वर्ष उमेर समूहका तीन हजार ६७२ बालबालिका रहेको जनाइएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएपछि दिगोपनाका लागि जनप्रतिनिधिलगायत सरोकारवालाले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका छन् । 

यसअघि खानीखोला र बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको थियो । खानीखोलाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको थियो । 

गाउँपालिकामा बालबालिकाको विवरण सङ्कलन गरी चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिका बिद्यालयको पहुँचमा पुर्याइएपछि खानीखोलालाई निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको थियो । उमेरगत बालबालिका शतप्रतिशत विद्यालय गएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोकले गत वर्ष असार पहिलोसाता अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरी पहिलो स्थानीय तह बनेको थियो । 

सरकारको आउँदो २०८४ भित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने योजना छ । अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकबापतको रकम लिन पाउने छैनन् । 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update