Odapalika - The Fourth Estate - चौथो अंग
जीतपुरसिमरा उपमहानगरको बजेटमा यसपटक पनि लफडा, रितका लागि व्यानरमै लेखियाे पहिलो बैठक

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजेट अधिवेशन स्थगित भएको छ । गत वर्ष पनि विवादका बीच बजेट ल्याएको उपमहानगरमा यसपटक पनि बजेट निर्माण र प्रस्तुत गर्ने प्रकृयामा लफडा देखिएको हो । 

बजेट बाँडफाँटको विषयमा कार्यपालिका सदस्यहरूबिच सहमति हुन नसकेपछि नगरसभा स्थगित भएको छ । उपमहानगरले अगामी आर्थिक वर्षका लागि २ अर्ब १ लाखको अनुमानित बजेट नगरसभामा पेश गर्ने तयारी गरिरहेका बेला स्थगित भएको हो । 

गत वर्ष पनि एमाले र कांग्रेस निकट जनप्रतिनिधिको बहिष्कारका कारण माओवादीका तर्फबाट निर्वाचित मेयर राजन पौडेलले २५ प्रतिशत सदस्य उपस्थित भएपछि त्यसैलाई गणपुरक मानेर सभामार्फत बजेट पारित गराएका थिए । 

मेयर पौडेलको बजेट बाँडफाँट प्रस्तावमा कार्यपालिका सदस्यहरु सहमत हुन नसकेपछि कार्यपालिकाबाट बजेट पारित नै हुन सकेन । जसका कारण नगरसभामा पेश हुन सकेन ।

नगरप्रमुख पौडेलले नगरसभा सुरु भएको १० मिनेटमै असार १८ गते बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका छन् । ‘सबै जनप्रतिनिधिहरूलाई धेरै बजेट चाहिएको छ । नभएको बजेटको डिमान्ड छ । वडाको सिलिङ जथाभावी बनाएर हुँदैन,’ नगरप्रमुख पौडेलले भने, ‘कार्यपालिका बैठकमा माओवादी बाहेकका वडाध्यक्षहरूले बजेटको सिलिङमा सहमति भएमात्र नगरसभा अगाडि बढ्न दिने सूचना प्राप्त भएकाले स्थगित गर्नुपर्ने अवस्था आएको हो ।’

स्थानीय सरकार सञ्चालन ऐनमा असार १० गतेभित्र पालिकाले आफ्नो बजेट प्रस्तुत गरिसक्नुपर्ने कानुनी प्रावधान छ । बजेटका लागि सभा बस्न र संचालन हुन नसक्ने देखिएपछि मेयरले बैठकको व्यानरमै पहिलो बैठक लेख्न लगाएका छन् । उनी ३ पटकसम्म लगातार बैठक डाकेर त्यसपछि बस्ने बैठकमा २५ प्रतिशत नगरसभा सदस्य उपस्थित भए त्यसैलाई गणपुरक मानेर बजेट पेश गरी पारित गर्ने तयारीमा छन् ।  गतवर्ष पनि यही प्रकृयाबाट बजेट ल्याउदा जनप्रतिनिधिबीच कुर्सी हानाहान भएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update