काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सहकारी संस्थाको पदाधिकारी बन्नको लागि अनुभव र शैक्षिक योग्यता तोकेको छ ।
उपमहानगरले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखिकरण (सातौं संशोधन) मापदण्ड, २०८३ को मुल मापदण्डमा भएको दफा ३ पछि थपिएको दफा ३क कार्यान्वयन गर्न सहकारी संस्थाहरुलाई भनेको हो ।
सो मापदण्ड अनुसार ५ करोड रुपैयाँसम्म सम्पत्ति वा दायित्व भएको सहकारी संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्ष बन्नको लागि कम्तिमा १० कक्षा उतिर्ण गरेको र सहकारी संस्थाको कुनै समितिमा कम्तिमा १ वर्ष रही कार्य गरेको हुनुपर्ने भनिएको छ ।
यस्तै, ५ करोड रुपैयााभन्दा बढीको कुल सम्पत्ति वा दायित्व भएको सहकारी संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्ष बन्नको लािग कम्तिमा १२ कक्षा उतिर्ण गरी सहकारीको कुनै समितिमा कम्तिमा २ वर्ष रही कार्य गरेको हुनुपर्ने भनिएको छ । २५ करोड रुपैयाँसम्मको कुल सम्पत्ति वा दायित्व भएको सहकारी संस्थाको व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनको लागि व्यवस्थापन, वाणिज्य शास्त्र वा वित्त विषयमा कम्तिमा १२ कक्षा उतिर्ण भएको हुनुपर्ने भनिएको छ । यसमा अनुभव तोकिएको छैन ।
उपमहानगरले २५ करोड रुपैयाँभन्दा बढी सम्पत्ति वा दायित्व भएको सहकारी संस्थाको व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्नको लागि व्यवस्थापन, वाणिज्य शास्त्र वा वित्त विषयमा स्नातक (ब्याचलर्स) तह उतिर्ण गरेको र बैंक वित्तीय संस्था तथा सहकारी संस्थामा कम्तिमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने भनिएको छ ।




