काठमाडौँ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालयमा निमित्त प्रधानाध्यापक रहेको खुलेको छ ।
नगरपालिकाको शिक्षा ऐन र नियमावलीले निमित्त प्रधानाध्यापकबाट काम गर्ने गराउने परिकल्पना गरेपनि सधैभरि निमित्तकै भरमा चलाउने व्यवस्था गरेको छैन । तर, विद्यालय व्यवस्थापन समितिले सबै सामुदायिक विद्यालयमा निमित्त प्रधानाध्यापक राखेको हो ।
नगरपालिकाले शिक्षा ऐन २०७५ को हालै संशोधन गरेको छ । नयाँ व्यवस्था अनुसार विद्यालयमा अवधि तोकेर प्रधानाध्याक नियुक्त गरिनु पर्ने व्यवस्था गरिएको उपमहानगरपालिकाको शिक्षा शाखाका उपसचिव शिवजी प्रसादले जानकारी दिए ।
‘शिक्षा ऐन र नियमावलीमा निश्चित अवधिको लागि प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्था गरिएको छ । यसैकारण अबदेखि निमित्त प्रधानाध्यमक नराख्न सबै वडा कार्यालयहरु र सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई पत्राचार गरिएको छ,’ शिक्षा शाखा प्रमुख समेत रहेका उपसचिव प्रसादले भने ।
सो उपमहानगरपालिकामा ६० वटा सामुदायिक विद्यालय रहेका र तीमध्ये अधिकांश सामुदायिक विद्यालयहरुमा निमित्त प्रधानाध्यापक रहेको नगरपालिकाले जानकारी दिएको छ ।



