काठमाडौँ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई आफ्नो विद्यालयबाहेक अन्य विद्यालय, शैक्षिक संस्था, कोचिङ सेन्टर, क्याम्पस तथा अन्य शैक्षिक संस्थामा अध्यापन वा काम गर्न कडाइ गरेको छ।
नगरपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकलाई विद्यालय व्यवस्थापन समिति तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई विद्यालयबाहिर काम नगर्न निर्देशन दिएको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले जानकारी दिए ।
उपमहानगरपालिकाका अनुसार केही शिक्षकले आफू कार्यरत विद्यालयबाहेक क्याम्पस, कोचिङ सेन्टर, भाषागत कक्षालगायत अन्य विद्यालय तथा शैक्षिक संस्थामा समेत पढाउँदै आएका छन् । शिक्षा नियमावली, २०५९ (दशौं संशोधन, २०८३) को परिच्छेद २२ अन्तर्गत नियम १३३ को उपनियम १ को खण्ड (ज) मा सामुदायिक विद्यालयका शिक्षकले विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालयबाहिर काम गर्न नहुने व्यवस्था रहेको उपमहानगरपालिकाले जनाएको छ।
सोही व्यवस्थाअनुसार विद्यालयबाहिर अन्य शैक्षिक संस्थामा काम गर्न इच्छुक शिक्षकले पहिले आवश्यक स्वीकृति लिनुपर्ने उपमहानगरपालिकाले स्पष्ट पारेको छ।
त्यस्तै, एउटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई अर्को शैक्षिक संस्थामा काममा लगाउनुअघि सम्बन्धित शिक्षकले आफू कार्यरत विद्यालयभन्दा बाहिर काम गर्ने अनुमति लिएको वा नलिएको यकिन गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई समेत उपमहानगरपालिकाले सचेत गराएको छ।
उपमहानगरपालिकाले नियमविपरीत काम गर्ने शिक्षक तथा त्यस्तो काममा लगाउने दुवै पक्षलाई कारबाही हुने चेतावनी दिएको छ। नियमअनुसारको आचारसंहिता पालना नगरेको पाइएमा शिक्षा नियमावलीमा व्यवस्था भएबमोजिम आवश्यक कारबाही गरिने सूचनामा उल्लेख छ।
उपमहानगरपालिकाको यो निर्देशनले सामुदायिक विद्यालयका शिक्षकको कार्यसमय, जिम्मेवारी र विद्यालयबाहिर गरिने अतिरिक्त शैक्षिक गतिविधिलाई थप व्यवस्थित गर्न खोजिएको हो ।



