
काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं.–६ को भण्डास बिप्पर कटेरीबाट १६ जना परिवार सदस्य भएको उर्मीला हायुको परिवार वेपत्ता भएको छ ।
अघिल्लो विहीबार मात्रै वडा कार्यालयमा परिचयपत्र बनाउन सपरिवार आएको हायु परिवार वडाबाट परिचयपत्र बनाउने वित्तिकै बेपत्ता भएको हो । घरमा पालेका कुखुरा तथा गाईभैसी लगायत पशुपंछी बाँधेकै ठाउँमा छोडेर ठूलो संख्याको परिवार नै बेपत्ता भएको छ ।
छिमेकीले सो घरमा कोही नभएको र बस्तुभाउ कराइरहेको थाहा पाएपछि वडा कार्यालयमा खबर गरेका थिए । छिमेकीबाट खबर आएपछि वडाध्यक्ष रविनकुमार श्रेष्ठ यथार्थ बुझ्न गएका छन् ।
‘छिमेकीले सो घरमा कोही नभएको र बस्तुभाउ पनि बाँधेकै ठाउँमा कराइरहेको भनेपछि हामीले परिवारका सदस्यको मोबाइलमा सम्पर्क गर्यौं । तर, सम्पर्क हुन सकेन । त्यसपछि यथार्थ बुझ्न वडाध्यक्षज्यू त्यही जानुभएको छ । घरमा कोही पनि नभएको अवस्था रहेछ,’ वडा नं. ६ को वडासचिव गायत्री भण्डारीले वडापालिकासँग भनिन् ।
हायुको परिवारमा १६ जना सदस्य थिए । परिवारका सबै सदस्य गत विहीबार वडा कार्यालय पुगेर परिचयपत्र नविकरण गरेका थिए । हायु परिवारको लागि गाउँपालिकाबाट प्रतिव्यक्ति प्रतिमहिना ४ हजार रुपैयाँ उपलब्ध हुन्छ । सोही भत्ता लिनको लागि उनको परिवार वडा कार्यालय गएको थियो ।
स्थानीयका अनुसार वडा कार्यालयमा परिचयपत्र नवीकरण गर्न आउँदा परिवारका सदस्यबीच झगडा भए जस्तो देखिएको थियो । तर, सो परिवार के कारणले बेपत्ता भयो भन्ने खुलेको छैन ।
केही स्थानीयले भने सो परिवार पोखरा गएको दाबी गरेका छन् । सो परिवारको एक जना सदस्य पोखरामा रहेकोले परिवारै उतै गएको शंका स्थानीयको छ ।
किन भागे ?
स्थानीले दिएको प्रारम्भिक जानकारी अनुसार सो परिवारले छिमेकीसँग सापटी रकम (ऋण) लिएका थिए । सो सापटी करिब ८ लाख भएको र सो रकम तिर्नुको साटो परिवार नै बेपत्ता भएको ती स्थानीयको दाबी छ ।
‘उनीहरु १६ जनाको परिवार थिए । मासिक ४ हजारका दरले भत्ता आउँदा पनि मासिक ६४ हजार रुपैयाँ भत्ता आउने भयो । त्यो देखेर छिमेकीले उनीहरुलाई सजिलै सरसापट दिन्थे । यस्तो सरसापट ७–८ लाख रुपैयाँ जति भएको रहेछ । त्यो रकम तिर्नुको साटो परिवार नै बेपत्ता भएको हो कि भन्ने शंका गरिएको छ,’ एक स्थानीयले भने ।