
काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं.–६ को भण्डास बिप्पर कटेरीबाट बेपत्ता भएको १६ जना परिवार सदस्य भएको उर्मिला हायुको परिवार पोखरामा भेटिएको छ ।
यसअघि वडापालिकाले दिउसो ३ बजेर ११ मिनेट जादा प्रकाशन गरेको समाचारमा सो परिवार पोखरा गएको भन्ने सुचना प्राप्त भएको उल्लेख गरिएको छ । जबकि सो समय नेपाल प्रहरी सो हायु परिवारको मोबाइल सम्पर्क रामेछाप नगरपालिकाको छापसिमन्टी भन्ने ठाउँको टावरमा देखिएको भन्दै सो क्षेत्रमा खोजी गरिरहेको थियो ।
पोखरामा सो परिवारको एक जना आफन्त रहेको जानकारी वडापालिकाले प्राप्त गरेको थियो । बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
के थियो भित्री कहानी ?
सो परिवारले साउन ८ गते सिन्धुलीको खुर्काेटमा रहेको हिमालयन बैंकबाट गाउँपालिकाबाट प्राप्त हुने भत्ता रकम निकालेको थियो । सरकारले हायु परिवारलाई संकटमा पर्न लागेको समुदाय भन्दै पैत्येक व्यक्तिलाई मासिक ४ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।
१६ जना सदस्य भएको सो परिवारले विगत ३ महिनाको भत्ता एकैपटक निकालेको हो । परिवारका १६ जनाले नै हिमालयन बैंकको खुर्काेट शाखाबाट साउन ८ गते प्रतिव्यक्ति ११ हजार ९७० रुपैयाँका दरले भत्ता रकम निकालेका थिए ।
बैंकबाट रकम निकालेपछि सो परिवारका सबै सदस्य साउन ९ गते शुक्रबार सो गाउँपालिकाको वडा नं. ६ मा गएर चालु आर्थिक वर्षको लागि भत्ता नवीकरण गराएका थिए । वडा कार्यालयमा जादा परिवारका सदस्यबीच झगडा भएको जस्तो देखिएको स्थानीयले वडापालिकालाई जानकारी दिएका छन् ।
सो परिवारले साउन ८ गते बैंकबाट रकम निकालेको थियो भने साउन ९ गते वडा कार्यालयबाट भत्ताको नवीकरण गराएको थियो । बैंकबाट रकम झिक्नु अघि नै सो परिवारले एउटा बोको पनि विक्री गरेर रकम लिइसकेको स्थानीयले जानकारी दिएका छन् ।
वडा कार्यालयबाट नविकरण गराएपछि सो परिवारले सोही दिन अर्थात साउन ९ गते शुक्रबार बेलुका घरमा सुगुर काटेर खाएको थियो । त्यसपछि सो परिवार घरमा पालिका भैसी, कुखुरा तथा बाख्रापाठा खोरमै छोडेर बेपत्ता भएको थियो । सम्भवतः साउन १० गते शनिवार विहान सो परिवार पोखरा लागेको थियो ।
किन बेपत्ता भयो परिवार नै ?
वडापालिकासँग सम्पर्कमा आएका स्थानीयहरु सो परिवारले छिमेकीसँग लिएको ऋणकै कारण बेपत्ता भएको हुनसक्ने दाबी गर्दछन् । १६ जनाको परिवारमा प्रत्येक व्यक्तिले मासिक ४ हजार रुपैयाँको दरले सरकारबाट भत्ता पाउने हुँदा सो परिवारलाई जसले पनि सापटी दिने र यस्तो रकम करिब ८ लाख पुगेपछि परिवार नै बेपत्ता भएको हुन सक्ने स्थानीयको दाबी छ ।
‘उनीहरु १६ जनाको परिवार थिए । मासिक ४ हजारका दरले भत्ता आउँदा पनि मासिक ६४ हजार रुपैयाँ भत्ता आउने भयो । त्यो देखेर छिमेकीले उनीहरुलाई सजिलै सरसापट दिन्थे । यस्तो सरसापट ७–८ लाख रुपैयाँ जति भएको रहेछ । त्यो रकम तिर्नुको साटो परिवार नै बेपत्ता भएको हो कि भन्ने शंका गरिएको छ,’ एक स्थानीयले भने ।