Odapalika - The Fourth Estate - चौथो अंग
सिन्धुलीबाट हराएको हायु परिवारको मोबाइल रामेछापमा ट्रेस, प्रहरी भन्छ– खोज्दैछौं

काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ६ को भण्डास बिप्पर कटेरीबाट हराएको १६ जनाको हायु परिवारको मोबाइल रामेछाप नगरपालिकाको मोबाइल टावरको सम्पर्कमा देखिएको छ । 

साउन ९ गते रामेछाप नगरपालिका–९ छाप सिमन्टीमा रहेको एनसेलको टावरमा सम्पर्क देखिएपछि रामेछाप प्रहरी खोजीमा जुटेको छ । तर, अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय रामेछाप डिएसपी भोलाकुमार भट्टले जानकारी दिए ।

‘जुन ठाउँमा मोबाइल ट्रेस भयो भनियो, त्यो क्षेत्रमा हामी खोजिरहेका छौं । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन,’ डिएसपी भट्टले वडापालिकासँग भने ।

यद्यपि, प्रहरीले रामेछापको जुन ठाउँको टावरमा सम्पर्क देखियो भन्यो, त्यो ठाउँ हायु परिवार बेपत्ता भएको ठाउँको वारिपारी हो । उनीहरुको घरमा पनि रामेछापकै टावरबाट सम्पर्क हुने गरेको हुन सक्ने स्थानीयले बताएका छन् । तर, नेपाल टेलिकमको भने खुर्काेटभन्दा केही माथिल्लो स्थानमा टावर छ । सो क्षेत्रमा नेपाल टेलिकमकै अर्काे टावर भनेको रामेछापको भालुखोपमा छ ।

सिन्धुलीबाट हराएको हायु परिवारको कनेक्सन रामेछापसँग हुने भएकोले प्रहरीले रामेछापमा पनि खोजी गरिरहेको छ । हायुको उद्गम स्थल नै रामेछापको सुकजोर भन्ने ठाउँमा हो । सुकजोर रामेछाप नगरपालिकाको छाप सिमन्टीको नजिकै पर्छ । 

हायुका केही छिमेकीले भने उनीहरु पोखरा गएको हुन सक्ने बताएका छन् ।

सम्बन्धित समाचार

गाउँपालिकाबाट मासिक ६४ हजार भत्ता पाउने हायुको परिवार कहाँ बेपत्ता भयो ?

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update