Odapalika - The Fourth Estate - चौथो अंग
‘मधेसमा कृषि बाली नै परिवर्तन गर्ने अवस्था आयो’

काठमाडौँ । मधेस प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन् । काठमाडौँमा आज आयोजित जलवायु न्यायसम्बन्धी कार्यक्रममा विज्ञहरूले जलवायु परिवर्तनका कारण समस्या थप बढ्दै जाने भन्दै सोहीअनुसार बाली विकास गरिनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा कृषिविज्ञ डा कृष्ण पौडेलले मधेसलगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धानखेती हुँदै आएकामा खडेरीले समस्या पर्दै आएको र यस खाद्य सुरक्षा जोखिम बढ्ने भएकाले सुक्खा स्थान अनुकूल खेती गर्नुपर्ने बताए ।

उनले मधेस तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको भन्दै गम्भीर भएर सोच्नुपर्ने बताए ।

‘कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्बर शक्ति गुमाएको छ । हानिकारक ग्यासको उत्सर्जनले बढेका तापक्रमले खडेरीलगायत समस्या निम्तिएकाले समस्या समाधान हुनेगरी सरकारले काम गर्नुपर्छ । कृषि बालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेअनुसार धेरै ‘डिप बोरिङ’ बनाउँदा दीर्घकालमा समस्या झन् बढ्नसक्छ । यो उपयुक्त उपाय होइन,’ डा. पौडेलले भने ।

वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पतिसमेत प्रभावित भएकाले ती क्षेत्रका मुद्दा उजागर हुनुपर्ने बताए । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मुद्दा उठाउन बाटो देखाएको उनको भनाइ छ ।

वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकारलगायत सरोकार भएकाहरूले भावी पुस्ताको अधिकारलाई समेत ध्यान दिनुपर्ने धारणा राखे । उनले दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने धारणा राखे ।

सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले जलवायु परविर्तनबाट विशेष गरी महिलाहरू अन्यायमा परेको बताइन् । सुक्खा भएसँगै पानीका लागि लामो यात्रा गर्नुपर्दा महिलाहरू नै बढी प्रभावित हुने गरेको उनको भनाइ छ । सञ्चारिका समूह र एक्सनएडको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update