Odapalika - The Fourth Estate - चौथो अंग
गाउँपालिकाले दिने सेवा शहर बस्नेका दैलोमा ! कति जायज ? 

काठमाडौँ । स्थानीय सरकारले जनतालार्ई सहज सेवा दिने नाममा गाउँ छाडेर शहर पसेकाहरुका लागि काठमाडौँमा धमाधम सेवा केन्द्र संचालन गरिरहेका छन् । 

सामाजिक सुरक्षा भत्ता, व्यक्तिगत घटना दर्तासहित वडा कार्यालयबाट हुने सबैखाले सिफारिस दिन विभिन्न स्थानीय तहले काठमाडौँमा शिविर राखेका छन् । 

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ७ ले काठमाडौँको वौद्धमा सेवा केन्द्र नै स्थापना गरेर सामाजिक सुरक्षा भत्तादेखि व्यक्तिगत घटना दर्तासम्मका सबै काम गर्दै आएको छ । 

मोलुङको सिको गर्दै काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकालगायतले गाउँ छाडेर काठमाडौँ उपत्यकालगायत सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा दिन थालेको छ । 

गाउँपालिकाले विशेष गरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो । 

एकहप्ते शिविरबाट पाँच सय ९१ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको सो गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले बताए । जहाँ गाउँपालिकाका नागरिक बस्छन् त्यही सेवा उपलब्ध गराउने  नीति पाकिलाको रहेको उनको भनाइ छ ।

गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख उद्धवप्रसाद पाण्डेको नेतृत्वमा सात स्थानमा शिविर सञ्चालन गरिएको थियो । काठमाडौँको कुमारीगाल शिविरबाट ६२, जोरपाटीबाट ८५, कपनबाट ५८, स्वयम्भूबाट  ७१ र कोटेश्वरबाट एक सय ५२, भक्तपुरको सूर्यविनायकबाट ९८ र काभ्रेपलाञ्चोकको बनेपामा ६५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको उनको भनाइ छ ।

उपत्यकालगायतका सहरमा बस्ने यहाँका नागरिक अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त भएको सो गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहमै कर्मचारी अभाव भएको गुनासो गरिरहेका स्थानीय सरकारहरु आगामी निर्वाचनलाई केन्द्रमा राखेर लोकप्रिय कार्यक्रम अघि सार्न थालेको भन्दै आलोचनासमेत सुरु भएको छ । 

तर नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगाना भने यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । उनले स्थानीय सरकारले शहरमा बसेका या जहाँ आफ्ना नागरिक बस्छन्, त्यही पुगेर सेवा दिन्छु भन्छ भने त्यसलाई नराम्रो मान्न नहुने उनको भनाइ छ । 

स्थानीय तहका जनप्रतिनिधिले आफ्ना कर्मचारी काठमाडौँ पठाएर जनता खोज्दै सेवा दिन थालेपछि स्थानीय तहको सेवामा भने प्रत्यक्ष प्रभाव परिरहेको स्थानीयको गुनासो छ । 

उनीहरुले स्थानीयलाई नै गुणस्तरीय र भनेको समयमा सेवा दिन नसकिरहेका बेला काठमाडौँसम्म कर्मचारी पठाएर जनता खोज्दै सेवा दिन्छु भनेर मान्छे खोज्दै हिड्नु चर्चित र लोकप्रिय बन्ने ध्यानमात्रै भएको स्थानीयको आरोप छ । 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update